‘लालीबजार’को नयाँ पोस्टरमा प्रशन्न मुद्रामा देखिए स्वस्तिमा र विशाल

‘लालीबजार’को नयाँ पोस्टरमा प्रशन्न मुद्रामा देखिए स्वस्तिमा र विशाल

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी वैशाख १८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘लालीबजार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का र डेब्यु अभिनेता विशाल देवकोटा प्रशन्न मुद्रामा छन् । निर्माण पक्षले पोस्टरमा स्वस्तिमा र विशाललाई जोडीको रुपमा प्रस्तुत गरेको छ ।

नेपाली रंगमञ्चमा अभिनेता तथा निर्देशकको रुपमा चिनिएका विशाल ‘लालीबजार’मा अडिसनमार्फत छनोट भएका हुन् । उनको अभिनय कौशलताकै कारण डेब्यु सिनेमामै स्वस्तिमाको जोडी बन्ने अवसर पाएको निर्माण कम्पनि षट्कोण आट्र्सले जनाएको छ ।

सानैदेखि कलाकार बन्ने सपना बोकेका विशाल नाटकमार्फत अभिनयलाई नजिकबाट बुझ्दै अघि बढेका थिए । रंगमञ्चमा काम गर्दै अनुभव बटुलेका देवकोटाले त्यसैको निरन्तरतास्वरूप सिनेमा क्षेत्रमा प्रवेश गरेका हुन् । विशाललाई पछिल्लो समय उदयीमान कलाकारको रुपमा हेरिएको छ । उनले नाटकमा अभिनय गर्दा देखाएको कलाकारिताको राम्रै चर्चा हुन् थालेको छ ।

‘सानैदेखि कलाकार बन्ने इच्छा थियो, त्यही सपना पछ्याउँदै आज यहाँसम्म आइपुगेको हुँ,’ उनले भने । उनका अनुसार कान्तिपुर थिएटरमा मञ्चन भएको ‘मीरा’ नाटकमा अभिनय गर्दा नै सिनेमा ‘लालीबजार’को टिमको ध्यान उनीतर्फ खिचिएको थियो । त्यसपछि अडिसनका विभिन्न चरण पार गर्दै उनी सिनेमामा छनोट भएका थिए । यसरी रंगमञ्चको अनुभवले उनलाई सिनेमामा प्रवेश गर्ने ढोका खोलेको उनले बताए ।

उनले भने, ‘मैंले लास्ट टाइम कान्तिपुर थिएटरमा एउटा प्ले गरेको थिएँ ‘मिरा’मा । त्यो प्ले हेर्न प्रदिप भट्टराई सर, रबिन दाई अनि जेवी दाई आउनुभएको थियो । उहाँहरुले हेरिसकेपछि एकचोटि अप्सनका लागि भनेर अफिसमा बोलाएर अडिसनको सिलसिलाहरु सुरु भएको थियो ।’

रंगमञ्च र सिनेमाम अभिनयबीचको भिन्नता अनुभव गर्दै उनले दुवै माध्यममा अभिनयको स्वरूप फरक हुने बताए । रंगमञ्चमा एकैपटक पात्रलाई पूर्ण रूपमा जिउन पाइने भएपनि सिनेमामा भने दृश्य–दृश्यमा टुक्रिएर अभिनय गर्नुपर्ने उनको अनुभव छ । सिनेमामा कथावस्तु समाजको यथार्थसँग जोडिएको उल्लेख गरे ।

‘यो हाम्रो समाजकै यथार्थमा आधारित कथा हो, जसले एउटा परिवेश र त्यहाँको माहोल प्रस्तुत गर्छ,’ उनले भने । रंगमञ्च र सिनेमा अभिनयबीचको फरकबारे बोल्दै देवकोटाले नाटकमा एकैपटक पात्रलाई जिउन पाइने तर सिनेमामा टुक्राटुक्रामा अभिनय गर्नुपर्ने अनुभव सुनाए ।

नयाँ टिमसँग काम गर्दा पनि आफूलाई सहज अनुभव भएको उनले बताए । षट्कोण आट्र्स जस्तो स्थापित ब्यानरबाट डेब्यु गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको उनको भनाइ छ । उनले दर्शकलाई ‘लालीबजार’ परिवारसहित हेर्न आग्रह गरे । ‘यो पारिवारिक रूपमा हेर्न मिल्ने, रमाइलो र नयाँ कथामा आधारित सिनेमा हो । बैशाख १८ गतेदेखि नजिकका सिनेमा हलमा गएर हेर्नुहोस्,’ उनले भने ।

सिनेमाको सार्वजनिक गीत ‘मायालाई के दिउँ म बैना’ लाई दर्शकले रुचाएका छन् । सिनेमाको यो गीतलाई ८० लाख दर्शकले हेरिसकेका छन् । फेसबुक रील्स, टिकटक भिडिओसहित युट्युब सट्समा समेत यो गीतमा भिडिओ बनाउनेको संख्या बढ्दो छ ।

बर्दियाको राजापुरमा छायांकन गरिएको सिनेमामा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ । यो सिनेमाबाट विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् ।

यम थापाको कथा तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । सिनेमामा कार्यकारी निर्माता प्रदीप भट्टराई र म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता हुन् । सिनेमामा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेडमा रुपकप्रताप अधिकारी छन् ।

सिनेमामा कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट) कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, संगीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।