‘पहाड’मा समावेश गीत ‘ॐ नम शिवाय’ सार्वजनिक

‘पहाड’मा समावेश गीत ‘ॐ नम शिवाय’ सार्वजनिक

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली नयाँ वर्षको अवसरमा बैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘पहाड’मा समावेश गीत ‘ॐ नम शिवाय’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रञ्जित सिंह गजमेरको संगीत, भारती घिमिरे र शिव परियारको स्वर र निर्देशक तुलसी घिमिरेको शब्द रहेको छ । सिनेमाको कथा जोडिएको गीतलाई भव्य सेटमा छायांकन गरिएको निर्देशक घिमिरेले बताए ।

‘यो गीत सिनेमाका लागि महत्वपूर्ण छ, यो गीतपछि सिनेमाको कथाले नयाँ मोड लिन्छ । हामीले झन्डै १३ दिन लगाएर सेट निर्माण गरेपछि यो गीतलाई तीन रात खिचेका थियौँ, सिनेमाको महत्वपूर्ण समयमा आउने गीत भएकाले यसमा अधिकाँस कलाकारलाई फिचर्ड गराएका छौँ,’ निर्देशक घिमिरेले भने ।

निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको सिनेमा ‘पहाड’ सार्वजनिक गरिएको गीतमा डेव्यु अभिनेत्री पञ्चमी घिमिरे, अरुण क्षेत्री, मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा लगायतलाई देख्न सकिन्छ । निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन् ।

निर्देशक घिमिरेले केही वर्षको अन्तरालमा कथावस्तु छनोट गरेर सिनेमा निर्माण गरेको बताए । ‘यो विषयलाई सिनेमाको माध्यमबाट आम दर्शकसम्म पुर्याउनु पर्छ भन्ने लागेर मैले बनाएको हुँ । यसमा मनोरन्जनसहित एउटा महत्वपूर्ण संदेश पनि छ’, निर्देशक घिमिरेले भने, ‘ग्रामीण सौन्दर्य, धन कमाउन युवाले गाउँ छाड्नुपर्ने बाध्यता, सहरभन्दा गाउँ उपयुक्त रहेको लगायतका सन्देश गीतमा छ ।’

सिनेमाले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए । सिनेमालाई प्रमोद प्रधानले छायांकन गरेका हुन् । भारतमा सिनेमा, वेबसिरिज र टेलीफिल्मसमेत छायांकन गरिसकेका प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतमा सहकार्य गरेका छन् ।

भाग्यरत्न फिल्मस् प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’मा रेनुनाथ योगी, अंकित खड्का, उमा गिरीको पनि अभिनय छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यही सिनेमामार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याएकाछन् । यस्तै, सिनेमाको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

सिनेमामा रञ्जित सिंह गजमेर संगीत निर्देशक रहेका छन् । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको सिनेमामा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् । भारती घिमिरे क्रिएटिभ निर्माता रहेको सिनेमालाई नेपालमा व्यांकटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्मस्‌ले वितरण गर्नेछ ।

सिनेमामा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शंकर कोइराला र भारती घिमिरेको सम्पादन छ । यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो ।