विजय र वर्षा रोमान्टिक अवतारमा फिचर्ड ‘मालती मंगले’को दोस्रो गीत ‘ढुंगा माथि लेऊ’ सार्वजनिक

विजय र वर्षा रोमान्टिक अवतारमा फिचर्ड ‘मालती मंगले’को दोस्रो गीत ‘ढुंगा माथि लेऊ’ सार्वजनिक

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गायक रामकृष्ण ढकालको लगानी रहेको सिनेमा ‘मालती मंगले’को दोस्रो गीत ‘ढुंगा माथि लेऊ’ सार्वजनिक गरिएको छ । आगामी वैशाख २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमाको दोस्रो गीतमा मुख्य कलाकार विजय बराल र वर्षा राउतलाई रोमान्टिक अवतारमा फिचर्ड छन् ।

सार्वजनिक गीतको भिडियोमा विजय र वर्षाले बलिउडको ब्लकबस्टर सिनेमा ‘मोहब्बते’मा शाहरुख खान र काजोलको भेषमा नृत्य गरेका छन् । निर्माता तथा गायक रामकृष्ण ढकालका अनुसार सिनेमाको कथामा वर्षाको पात्रले विजयमा शाहरुखलाई देख्ने भएकाले गीतमा त्यसैको झल्को दिने प्रयास गरिएको हो ।

रानी फिल्मस्‌को ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्य रहेको सिनेमाको गीतमा गायक रामकृष्ण ढकाल र गायिका ऋतिका श्रेष्ठको स्वर छ । हर्क साउदको शब्द तथा एसडी योगीको संगीत रहेको गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । अर्जुन तिवारीले छायांकन गरेको गीतको भिडियोमा रोशन बिकको कोरियोग्राफी हेर्न सकिन्छ ।

यसअघि सिनेमाको शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको थियो । सिनेमाको नाम सुन्दा धेरैलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेको चर्चित गीतिनाटकको झल्को आएतापनि निर्माता ढकाल यो पूर्णतः हाम्रै समाजको परिवेशमा आधारित एक फरक सांगीतिक प्रेमकथा भएको बताउँछन् ।

प्रकु पाण्डेयको डेव्यु निर्देशकीय सिनेमा ‘मालती मंगले’को कथा पनि निर्देशक स्वयंले लेखेका हुन् । संयोग गुरागाईँले पटकथा तथा संवाद तयार पारेको सिनेमाका कार्यकारी निर्माता सागर ज्ञवाली तथा सह–निर्मातामा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ छन् ।

सिनेमामा विजय र वर्षासहित मेक्सम गौडेल, नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुष्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रंग संयोजन, डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ । सिनेमाको डिजिटल वितरक ओएसआर तथा थिएटर वितरक आरआर फिल्मस् हो । समग्र सांगीतिक पाटो र बलियो कथावस्तुका कारण वैशाख २५ गते प्रदर्शन हुने सिनेमालाई लिएर दर्शकमाझ उत्सुकता बढेको दाबी निर्माण टिमको छ ।