‘महाभोज’का वितरक गोविन्द शाहीले दिए निर्माता हिमाल कडरियाविरुद्ध उजुरी

‘महाभोज’का वितरक गोविन्द शाहीले दिए निर्माता हिमाल कडरियाविरुद्ध उजुरी

द सिनेमा टाइम्स
287
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत जेठ ३० गतेबाट देशव्यापी प्रदर्शनमा आएको सिनेमा ‘महाभोज’ लाई लिएर निर्माता र वितरकबीच लेनदेनको विवाद सिर्जना भएको छ । सम्झौता बमोजिमको रकमसहित क्षतिपूर्ति माग्दै वितरक गोविन्द शाहीले निर्माता हिमाल कडरियाविरुद्ध चलचित्र निर्माता संघमा उजुरी दिएका छन् ।

वितरण कम्पनी काफिया फिल्मस् प्रालिको तर्फबाट वितरक शाहीले सम्झौता बमोजिम ३८ लाख १८ हजार ३१३ रुपैयाँ रकम आफूले पाउनुपर्ने उजुरीमा उल्लेख गरेका छन् । १५ फागुनमा दर्ता भएको उजुरीमा शाहीले कडरियाबाट पाउनुपर्ने रकमसहित क्षतिपूर्ति समेत मागेका हुन् । अहिले अस्ट्रेलियामा रहेका निर्माता कडरियालाई छलफलमा आउन पटक–पटक भनिएपनि सम्पर्कमा नआएको निर्माता संघका अध्यक्ष उदय सुब्बाले बताए ।

अध्यक्ष सुब्बाका अनुसार गत ३ चैतमा संघले न्यायिक समितिको बैठक बोलाएको थियो । त्यो बैठकमा निर्माता कडरिया अनुपस्थित रहेको समेत उनले बताए । ‘हाम्रो काम सहजीकरण गरिदिने हो’ अध्यक्ष सुब्बाले भने, ‘अब अगाडि कानूनी प्रक्रियामा अगाडी बढाउन वितरक स्वतन्त्र हुनुहुन्छ ।’

अध्यक्ष सुब्बाका अनुसार अहिले पनि निर्माता संघमा केही सिनेमाको लेनदेनको विवादका उजुरी थाँती छन् । दिनेश राउतको निर्देशनमा निर्माण भएको सिनेमा ‘महाभोज’ले सहकारी ठगीको कथावस्तु उठाएको थियो । चलचित्र विकास बोर्डको बक्सअफिसमा यो सिनेमाले ६८ लाख ७१ हजार १०५ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।

यता, वितरक शाहीले पटक पटक अनुरोध गर्दा पनि निर्माता कडरिया सम्पर्कमा नआएपछि अब कानुनी प्रक्रियामा जाने तयारीमा रहेको बताएका छन् ।