द सिनेमा टाइम्स, काठमाडौं । गणतन्त्र दिवस अवसर पारेर आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रोल नं १’को फर्स्टलुक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले बिहीबार यो सिनेमाको फर्स्टलुक सार्वजनिक गरेको हो ।
सार्वजनिक दुई पोस्टरले पात्रहरूको परिचयसँगै सिनेमाको मूल मर्म, नेपाली समाजको यथार्थप्रतिको दृष्टिकोणलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । पोस्टरमा प्रयोग गरिएको माटोको रङले भुइँमान्छेको कथाको संकेत गरेको छ । दुईमध्ये एउटामा बाल-कलाकार निर्भिक रेग्मीसँगै सिनेमाका मुख्य अभिनेता मुकुन भुसाल र अभिनेत्री रेणु योगी ग्रामीण परिवेशको पहिरनमा देखिएका छन् ।
पोस्टरको पहिरनले उनीहरूले जीवन जिउनका लागि गरिरहेको संघर्षलाई चित्रण गरेको छ । अभावमा छोरा पढाइरहेको एक जोडीको यतार्थ देखाएको छ । अर्को पोस्टरमा बालक आफ्ना बुबाको पिठ्युँमा टाउको राखेर सुतेको भावनात्मक दृश्य छ । बालकको अनुहारमा देखिएको खुसी र पछाडि देखिएको पहाडी भेग छ । बुबाको पिठ्युँलाई शारीरिक सहाराका रूपमा मात्र होइन, बालकको भविष्यको आधारशिलाका रूपमा प्रस्तुत गरिएको छ ।
सिनेमाको ट्यागलाइन ‘हरेक विद्यार्थीको कथा’ राखिएको छ, जसले यो सिनेमा विद्यार्थी जीवन, विद्यालयको संघर्ष र शैक्षिक सपनामा केन्द्रित रहेको प्रस्ट पार्छ । नेपालका आम गाउँका विद्यार्थीहरूको साझा भोगाइ हो भन्ने दाबी गर्छ । सिनेमाको शीर्षक ‘रोल नं १’ले प्रतिस्पर्धाको कुरा गर्छ, तर पोस्टरले त्यो ‘१’ अंक हासिल गर्न एउटा निम्मवर्गीय परिवारले कति ठूलो मूल्य चुकाउनुपर्छ भन्ने देखाउँछ ।
बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेको ‘पूर्ण बहादुरको सारङ्गी’को टिमले बनाएको सिनेमा भएकाले र पोस्टरमा देखिएको ‘इमोसनल टोन’ले दर्शकलाई सिनेमाप्रति भावनात्मक रूपमा जोड्ने देखिन्छ । जोन योञ्जनको निर्देशनमा निर्माण भएको सिनेमामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । सिनेमाको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्मातामा रहेको सिनेमाको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । यो सिनेमालाई महेश दवाडीले लेखेका हुन् । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको सिनेमाको डीओपी शिव राम श्रेष्ठ रहेका छन् ।
सिनेमामा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी छन् । सिनेमाका सम्पादक मदन घिमिरे हुन् । निर्माता पौडेलका अनुसार सिनेमा नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइनेछ । सिनेमालाई रिच इन्टरटेन्मेन्ट र जेएम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।



प्रतिक्रिया