द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत्र २७ गते नेपाली नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आउने एक्सन सिनेमा ‘राम नाम सत्य’को ट्रेलरलाई दर्शकले रुचाएका छन् । गत बिहीबार सार्वजनिक गरिएको ट्रेलर विश्वव्यापी रूपमा युट्युबको ट्रेन्डिङमा पर्नुले सिनेमा हेर्न दर्शक अधैर्य रहेको देखाउँछ । अहिले सिनेमाको ट्रेलर नेपालसहित १० वटा देशमा ट्रेन्डिङमा देखिएको छ ।
नेपालमा सिनेमातर्फको ट्रेन्डिङ चार्टको शीर्षस्थानमा रहेको ट्रेलर कतार, मलेशिया, रोमानिया, साउदी अरब, यूएइ, मलेशिया, जापान, अष्ट्रेलिया र साउथ कोरियामा समेत ट्रेन्डिङको शीर्ष २० भित्र परेको छ । विश्वव्यापी रूपमा ट्रेन्डिङमा परेको ट्रेलरलाई युट्युबमा भ्यूज पनि लोभलाग्दो देखिएको छ । यो समाचार तयार पार्दासम्म १५ लाखभन्दा बढीले ट्रेलर हेरिसकेका छन् ।
ट्रेलरलाई युट्युबमा दर्शक प्रतिक्रिया पनि उत्साहजनक मिलेको देखिन्छ । प्रायःले विराज भट्टको एक्सन र संवाद मन पराएका छन् भने यही सिनेमाबाट डेब्यू गरेका टिकटक स्टार आयुष सिंह ठकुरीलाई लिएर दर्शकले उत्साह व्यक्त गरेका छन् । युट्युबमा सबैभन्दा धेरै प्रतिक्रिया आयुषकै नाममा आएको छ ।
‘राम नाम सत्य’को ट्रेलरलाई दर्शकले रूचाइरहँदा यसमा समावेश ‘धागोले बाटेको’ र ‘हुम्लाको लिमी’ गीत लोकप्रिय भइसकेका छन् । यी दुई गीतमा लाखौंको संख्यामा टिकटक, रिल्स र सर्टस् बनेका छन् भने युट्युबमा दुई गीतको भ्यूज जोड्दा ८० लाख नाघिसकेको छ । यसरी हेर्दा सिनेमाप्रति दर्शकमाझ अत्याधिक उत्साह देखिन्छ ।
माइकल चन्दको निर्देशनमा निर्माण भएको सिनेमामा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की, दिनेश डिसी, सुधीर श्रेष्ठ, सन्तोष सरकार लगायतको अभिनय रहेको छ । सिनेमामा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता तथा मोती कार्की क्रियटिभ निर्मातामा छन् ।
माइकल इन्टरटेन्मेन्टको हाउसको प्रस्तुतिमा निर्देशक चन्द स्वयंको लेखन रहेको सिनेमामा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन, सियोन श्रेष्ठको कोरियोग्राफी, बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत तथा काला चरणको पार्श्व संगीत छ ।


प्रतिक्रिया