निफमा देखाइयो भेनिसमा प्रिमियर भएको चिनियाँ सिनेमा

निफमा देखाइयो भेनिसमा प्रिमियर भएको चिनियाँ सिनेमा

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित सिनेमा ‘स्नो लियोपार्ड’ प्रदर्शन भएको छ । भेनिस अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको सन् २०२३ को संस्करणमा प्रिमियर भएको यो सिनेमा निफ अन्तर्गत ‘सिजाङ पानोरमा’मा प्रदर्शन गरिएको हो ।

तिब्बती गोठालाहरूको जीवन र मानव–वातावरणबीचको सहअस्तित्वको कथामा निर्माण भएको सिनेमाले भेनिसमा समेत चर्चा पाएको थियो । सिजाङ पानोरमा अन्तर्गत शनिबार अन्य तीन सिनेमाहरू ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’ र ‘सनराइज ओभर द प्लेटो’ प्रदर्शन भएका थिए । यी तीनै सिनेमा भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा देखाइएका हुन् ।

गुओ यिफीको निर्देशनमा बनेको ‘होम अवे होम क्लोज’ले स्थानीय गोठालाहरूका लागि ‘मोबाइल फोटो स्टुडियो’ नामक जनसेवा पहल सुरु गर्न भौगोलिक जटिलता सामना गर्ने एक युवकको कथा प्रस्तुत गरेको छ । सिनेमा ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’को निर्देशक ज्याक मालाटेरे हुन् । यो सिनेमाले शैक्षिक मुद्दा उठान गरेको छ ।

सियाओ सियाओवाईको निर्देशनमा निर्माण भएको सिनेमा ‘सनराइज ओभर द प्लेटो’ले साधारण परिवारहरूको शिक्षा, अर्थतन्त्र र संस्कृतिमा आएको असामान्य परिवर्तनहरूलाई उजागर गरेको छ । यस पानारोमा अन्तर्गत आज आइतबार सिनेमाहरू ‘वारियर किङ’ र ‘डिस्कोभरिङ सिजान २०२६’ पनि प्रदर्शन हुनेछ । निफ अन्तर्गतको ‘सिजाङ पानोरमा’मा प्रतिस्पर्धाबाहिरको विशेष प्रदर्शन कार्यक्रम हो ।

निफमा शनिबार प्रतिस्पर्धामा रहेका सिनेमाहरू सिभिल मल, छाया सेन्टर र रसियन हाउसमा प्रदर्शन भएका थिए । पर्यटनमा बोर्डमा ‘निफ फिचर पिच’ कार्यक्रम पनि भएको थियो । जसमा नयाँ र युवा लेखकहरूले निर्मातालाई कथा सुनाएका थिए ।