सर्लाहीमा ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’को पाँचौँ संस्करण आयोजना हुने

सर्लाहीमा ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’को पाँचौँ संस्करण आयोजना हुने

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । मधेश प्रदेशको सर्लाही जिल्लामा ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’को पाँचौँ संस्करण आयोजना हुने भएको छ । आगामी बैशाख १५ देखि १७ गतेसम्म सर्लाहीको चन्द्रनगर गाउँपालिकामा महोत्सवको आयोजना गरिने आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानले जनाएको छ ।

ग्रामीण कथावस्तुमा निर्माण भएका सिनेमालाई प्रवद्र्धन गर्ने उद्देश्यले सुरू भएको ‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने मूल नारासहित यसअघि लाप्राक, गोसाईकुण्ड, भकुण्डेबेसी र रामेछापमा आयोजना भइसकेको यो महोत्सव पहिलो पटक तराईमा आयोजना हुन लागेको हो ।

सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार ग्रामीण कथा र मधेशको संस्कृतिमा केन्द्रित सिनेमालाई प्रवर्द्धन गर्न यसपटक सर्लाही जिल्लामा महोत्सव गर्न लागिएको हो ।

महोत्सवका लागि ग्रामीण कथावस्तुमा आधारित फिचर, सर्ट तथा विभिन्न भाषाभाषीका ५० भन्दा बढी सिनेमाको आवेदन परेको जनाइएको छ । तीमध्ये निर्णायक मण्डलबाट छनोट भएका सिनेमाहरू महोत्सवमा प्रदर्शन हुनेछन् भने उत्कृष्टलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ । महोत्सवमा प्रदर्शन हुने सिनेमा दर्शकले निःशुल्क हेर्न पाउनेछन् ।

नेपाली मौलिक सिनेमाप्रति दर्शकको आकर्षण बढाउनु, दर्शकमा नियमित रूपमा सिनेमा हेर्ने संस्कार विकास गर्नु, ग्रामीण कथामा आधारित सिनेमालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनु, स्थानीय भाषा, कला, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्नु महोत्सवको उद्देश्य रहेको अध्यक्ष सापकोटाले बताए ।

पाँचौँ संस्करणसम्म आइपुग्दा महोत्सवले आफ्नो प्रतिष्ठा उँचो बनाएको सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको दाबी छ ।