‘परालको आगो’बाट ७ वर्षपछि सिनेमा निर्माणमा कमब्याक गर्दै सुशील पोखरेल

‘परालको आगो’बाट ७ वर्षपछि सिनेमा निर्माणमा कमब्याक गर्दै सुशील पोखरेल

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्माता सुशील पोखरेल ७ वर्षपछि सिनेमा निर्माणमा कमब्याक गर्दैछन् । नेपाली सिनेमा उद्योगमा विश्वासिलो निर्माताको पहिचान बनाएका पोखरेलले ‘परालको आगो’बाट पुनः सिनेमा निर्माणमा फर्किएका हुन् । बैशाख ११ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘परालको आगोले’ले सार्वजनिक पोस्टर, टिजर तथा गीतबाट दर्शकमाझ उत्सुकता बढाइरहेको छ ।

निर्माताले आफ्नो सिनेमामाथी गरेको भरोसाले यो उत्कृष्ट कथामा बनेको बुझ्‌न सकिन्छ । पछिल्लो समय धेरै निर्माता सिनेमा बनाउने डराइरहेको बेला पोखरेलमा आत्मविश्वास बढेको देखिन्छ । उनले ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडिगार्ड’, ‘लभसब, ‘राधे’ हुँदै पछिल्लो सिनेमा ‘यात्रा’मा ठूला स्टारहरूसँग काम गर्दै हिट र यादगार सिनेमा दिएका छन् ।

निर्माता पोखरेलले दुई पुस्तासँग काम गरिसकेका छन् । पुरानो पुस्ता र नयाँ पुस्तालाई जोड्ने सेतुका रूपमा चिनिने सुशीलले अभिनेत्री झरना थापालेखि अहिले उनकी छोरी सुहाना थापासँग ‘परालको आगो’मा सहकार्य गरेका छन् । यो आफैंमा एउटा विरासतको निरन्तरता हो ।

हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको निर्माता पोखरेलको कमब्याक सिनेमा ‘परालको आगो’मा सौगात मल्ल, सुहाना थापा, प्रकाश सपुत मुख्य भूमिकामा देखिँदै छन् । सामाजिक यथार्थ, गहिरो भावना र शक्तिशाली कथा बोल्ने सिनेमालाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । सिनेमाको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् ।

सिनेमामा भिएफएक्स समिर मिया र सत्यम राना, टिजर तथा ट्रेलर सम्पादन साहिल खान, पार्श्व संगीत किरण तुलाधर, संगीतमा शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुत, गीत रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको छ । सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको सिनेमालाई नेपालभरको फिल्मको वितरण आरआर फिल्मस्‌ले गर्दैछ ।

‘यात्रा’पछि लामो समय सिनेमा निर्माणबाट टाढा रहेका सुशील पोखरेलको कमब्याक केवल एउटा सिनेमा मात्र नभई अनुभव, विश्वास र सिनेमाप्रतिको समर्पण भएको दाबी छ । यी सबैका बीच ‘परालको आगो’ले कस्तो व्यापार गर्ला भन्ने चासो सिनेमाकर्मी माझ छ । यसको जवाफ बैशाख ११ पछि मिल्ने नै छ ।