द सिनेमा टाइम्स, काठमाडौं । यम थापाको निर्देशनमा निर्माण भएको सिनेमा ‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक गरिएको छ । सिनेमाका चल अचल दृश्य समावेश लिरिकल गीतमा समीक्षा अधिकारीसहित दिलिजा रुवाली, अलिशा शर्मा र पुर्णिमा तामाङ र कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरको स्वर सुन्न सकिन्छ । यो गीतमा शब्द तथा संगीत जयन जे वाइवा रहेको छ ।
षट्कोण आर्टसले निर्माण गरेको सिनेमा ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’लाई युट्युबमा भ्यूज एक करोड बढी भ्यूज प्राप्त भएपछी निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको हो । ‘मायालाई के दिउँ म बैना’ करोड भ्यूज नाघेको अवसरमा निर्माण पक्षले केक काट्दै खुसियाली समेत साटेको छ ।
सार्वजनिक ‘मिठो संसार’ गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार स्वस्तिमा खड्का, प्रसंशा सुवेदी, बालकलाकार समाइरा थापा फिचर्ड छन् । सिनेमाका लेखक तथा निर्देशक थापाले सार्वजनिक दोस्रो गीत कथासँग जोडिएको बताए । ‘गीतमा आमा र छोरी बीचको प्रेम देखाइएको छ । छोरी प्रति आमाको माया र हुर्काउन गर्ने संघर्षलाई चित्रण गरिएको छ,’ उनले भने ।
बर्दियाको राजापुरमा छायांकन गरिएको सिनेमामा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, प्रदीप ढकाल, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ । यो सिनेमामार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् ।
यो सिनेमा आगामी वैशाख १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ । ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र अर्का निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । सिनेमाको कार्यकारी निर्मातामा प्रदीप भट्टराई अनि निर्मातामा म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ रहेका छन् ।
सिनेमामा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक रोहित शाक्य र शैलेश श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट), कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, संगीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको छ ।


प्रतिक्रिया