सकियो निफ, कस्ले कुन-कुन विद्यामा उचाले अवार्ड ?

सकियो निफ, कस्ले कुन-कुन विद्यामा उचाले अवार्ड ?

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ)को नवौं संस्करणमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय सिनेमाको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागंज’ : पूजा सर’ले जितेको छ ।

सोमबार काठमाडौंको सुन्धारास्थित सिभिल मलमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा यो सिनेमालाई ट्रफी र एक हजार पाँच सय अमेरिकी डलर पुरस्कारले सम्मान गरिएको छ ।

सर्वोत्कृष्ट राष्ट्रिय सिनेमा पुरस्कार समुन्द्र भट्ट निर्देशित ‘गुन्यू चोलो : द ड्रेस’ले पाएको छ । यो सिनेमा ट्रफी र एक हजार अमेरिकी डलरले सम्मानित भयो । भट्टले यो सिनेमाबाट उत्कृष्ट निर्देशकको अवार्ड जितिन् । यो सिनेमाबाट नाजिर हुसेनले सर्वोत्कृष्ट अभिनेताको अवार्ड उचाले ।

सिनेमा ‘कोशेढुङ्गा’बाट सुरक्षा पन्तले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । राष्ट्रियतर्फ सर्वोत्कृष्ट पटकथाकारको अवार्ड सिनेमा ‘केटी हराएको सूचना’बाट दीपेन्द्र गौचन पाएका छन् । सर्वोत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड सिनेमा ‘कोशेढुङ्गा’बाटै बाबु श्रेष्ठले पाए ।

दक्षिण एसियाली सिनेमा अन्तर्गतको प्रतिस्पर्धामा नेपाली भाषाको भारतीय सिनेमा ‘जार’ सर्वोत्कृष्ट घोषित भएको छ । फुर्वा छिरिङ लामा निर्देशित यो सिनेमाले ट्रफी र पाँच सय अमेरिकी डलरले सम्मानित भएको छ । त्यस्तै, सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्रीको अवार्ड आइसल्यान्डको ‘ग्राउन्ड बिनिथ आवर फिट’ले पाएको छ । इर्सा रोका फ्यानबर्ग निर्देशित यो डकुमेन्ट्रीलाई ट्रफी र एक हजार अमेरिकी डलरले सम्मान गरिएको छ ।

सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट सिनेमाको अवार्ड ‘सिप’ले पाएको छ । हादी बाबेइफरद्वारा निर्देशित इरानको यो सर्ट सिनेमा ट्रफी र पाँच सय अमेरिकी डलरले सम्मानित भएको छ । सर्वोत्कृष्ट एआई थिम्ड सर्ट सिनेमाको अवार्ड जितेको ‘स्पिरिट अफ द माउन्टेन’ ट्रफी र पाँच सय अमेरिकी डलरले सम्मानित भएको छ । यो पाङ जियाद्वारा निर्देशित यो चिनियाँ सर्ट सिनेमा हो ।

सर्वोत्कृष्ट विद्यार्थी सिनेमाको अवार्ड मेक्सिकोको ‘पासारिन्हो’ घोषित भएको छ । यो सिनेमालाई पाँच सय डलर र ट्रफीले सम्मान गरिएको छ । सर्वोत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री दीपक छोदेन लामाद्वारा निर्देशित ‘होम इज नट अ प्लेस’ र सर्वोत्कृष्ट राष्ट्रिय सर्ट सिनेमाको सुरज पौडेलद्वारा निर्देशित ‘रिहाना’ घोषित भएका हुन् । यी दुवै ट्रफी र पचास हजार रुपैयाँले सम्मानित भए ।

डन किहोते सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय सिनेमाको अवार्ड इरानी सिनेमा ‘माई डटर्ज हेयर’ले पाएको छ । हेसाम फराहमान्दद्वारा निर्देशित यो सिनेमालाई प्रमाणपत्रले सम्मान गरिएको छ । स्पेशल मेन्सन राष्ट्रिय डकुमेन्ट्री ङिमा गेलु शेर्पाद्वारा निर्देशित ‘एज डे गोज बाइ’ घोषित भयो । यसलाई प्रमाणपत्रले सम्मान गरियो । स्पेशल मेन्सन अन्तर्राष्ट्रिय सर्ट सिनेमा भारतको ‘हाउसकिप्पर’ घोषित भयो । सुर्या बालाकृष्णद्वारा निर्देशित यो सर्ट सिनेमालाई प्रमाणपत्रले सम्मान गरियो ।

स्पेशल जुरी मेन्सन अन्तर्राष्ट्रिय सिनेमा अवार्ड चिनियाँ सिनेमा ‘द शोर अफ लाइफ’ घोषित भएको छ । प्रमाणपत्रले सम्मानीत यो सिनेमाको निर्देशक ची झाङ हुन् । प्रमुख अतिथि हार्तम्छालीले अवार्ड कार्यक्रम आयोजना गरी विदेशी सिनेमा उद्योगसँग नेपाली सिनेमालाई जोड्ने र सम्बन्ध विस्तारको काम गरेको भन्दै निफका अध्यक्ष केपी पाठकलाई धन्यवाद व्यक्त गरेका थिए ।

निफ सफल पार्न सहयोग गर्ने सम्पूर्णमा अध्यक्ष पाठकले धन्यवाद व्यक्त गरेका हुन् । यो संस्करणको निफ चैत १९ गतेबाट सुरु भएको थियो ।