द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री नीता ढुंगानाको डेव्यु निर्देशकिय सिनेमा ‘पार्वती’को छायांकन सुरू भएको छ । मंगलबार कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँमा शुभमुर्हूत गर्दै सिनेमाको छायांकन थालिएको हो । एक महिनाको छायांकन तालिका तय गरिएको यो सिनेमाबाट नीता पहिलो पटक निर्देशकका रूपमा प्रस्तुत हुन लागेकी हुन् ।
नीता फिल्म्सको ब्यानरमा निर्माण हुने सिनेमामा नीता स्वयंको मुख्य भूमिका रहनेछ । उनीसहित सिनेमामा दीपाश्री निरौला, बाल गायक अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको पनि अभिनय रहनेछ । अभिनयको हिसाबले अशोकको यो दोस्रो सिनेमा हो । उनले यस वर्ष प्रदर्शनमा आएको ‘मन बिनाको धन’बाट सिनेमामा डेब्यू गरेका थिए ।
आगामी भदौ १२ गते प्रदर्शनमा आउने सिनेमामा नीता स्वयंको कथा तथा पटकथा छ । यसमा संवाद भने शिवम् अधिकारीले लेखेका हुन् । हरिहर अधिकारी निर्माता रहेको सिनेमामा सुदीप बरालले छायांकनको जिम्मेवारी सम्हालेका छन् । साहिल खानले सम्पादन गर्ने सिनेमामा सरोज अधिकारी क्रियटिभ निर्देशक र शंकर पाण्डे प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्मातामा रहेका छन् ।
सिनेमामा उनी ‘अटिजम’ भएको युवतीको भूमिकामा देखिने जनाइएको छ । नीताले सिनेमामा पार्वती पात्र एक्लै आफ्नै दुनियाँमा जिउने खालको रहेको बताएकी छन् । सिनेमाबारे उनी भन्छिन्, ‘यो हास्य, भावना र सामाजिक सन्देश मिसिएको मनछुने कथा हो, जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव दर्शाइनेछ ।’



प्रतिक्रिया