रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’को छायांकन २८ दिनमा सकियो

रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’को छायांकन २८ दिनमा सकियो

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न भएको छ । यो सिनेमाको २८ औं दिनमा छायांकन सकिएको जानकारी निर्माण टिमले दिएको हो ।

गत फागुन २५ गतेबाट छायांकन सुरु भएको सिनेमाको सम्पुर्ण छायांकन काठमाडौं आसपासकै विभिन्न स्थानमा गरिएको कोअर्डिनेटर राजन घिमिरेले बताए । सिनेमा ‘माया भनेकै यस्तो होला’ मार्फत अभिनेत्री रेखा थापा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सिनेमा निर्देशन गरिसकेकी उनको यो तेस्रो निर्देशकीय सिनेमा हो ।

अभिनयमा नभएर निर्देशनमा मात्र पूर्ण रूपमा केन्द्रित भएकी रेखाले यसपटक आफ्नै ब्यानर रेखा फिल्मस् भन्दा बाहिरको सिनेमा निर्देशन गरेकी हुन् । दिया एण्ड अमु फिल्मस्‌को ब्यानरमा निर्माण भएको सिनेमामा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमान समयका चर्चित अनुहारको जम्बो टिम छ ।

सिनेमामा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि देखिनेछिन् । यस हिसाबले सिनेमामा एक साथ चार मिस नेपाल समेटिएका छन् । यो सिनेमामा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेलको पनि अभिनय छ ।

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको सिनेमाले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्ने बताइएको छ । यो सिनेमामा ध्रुव लम्सालको पटकथा लेखन रहेको छ । १० वर्षपछि लेखनमा फर्किएका उनले स्क्रिप्टमा निकै मिहिनेत गरिएको बताए ।

सुदीप बरालको छायांकन रहेको सिनेमामा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे सिनेमा संयोजक, प्रशान्त सिवाकोटीको संगीत, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणी (सीएम) छन् । निर्माण टिमले यो सिनेमालाई आगामी वर्षको तीजको अवसर पारेर देशभरका हलहरूमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।