द सिनेमा टाइम्स, काठमाडौं । आगामी वैशाख १८ गते प्रदर्शनमा आउने सिनेमा ‘लालीबजार’को सम्पूर्ण प्राविधिक काम सम्पन्न भएको छ । निर्माण कम्पनी षट्कोण आट्र्सले सिनेमा तयार भएसँगै यसको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा गरेको हो ।
सिनेमामा समावेश गीत ‘मायालाई के दिउँ म बैना’ लोकप्रिय भएसँगै सिनेमाको विदेश अधिकार खरिदका लागि प्रस्ताव आइरहेता पनि निर्माण पक्षले प्राविधिक रुपमा तयार भएपछि सिनेमा प्रदर्शन अधिकार बिक्री गर्न लागेको हो ।
षट्कोण आट्र्सद्वारा निर्मित सिनेमाले डायस्पोरा वितरकलाई घाटा नगराई मुनाफा दिलाउने भएकाले पनि ‘लालीबजार’ खरिदका लागि विभिन्न प्रस्ताव आइरहेका छन् । डायस्पोरामा राम्रो व्यपार गर्नेसँगै दर्शकको विश्वास जित्ने सिनेमा निर्माण कम्पनिका रुपमा षट्कोण आट्र्स प्रमाणित भईसकेको छ ।
निर्माण कम्पनीका अनुसार सिनेमा तीन साताअघि नै प्रदर्शनका लागि तयार भइसकेको हो । डायस्पोरा अधिकार खरिद गर्ने वितरकलाई प्राविधिक काम अन्तिम चरणमा हुँदा झन्झट हुने भएकाले सिनेमा पूर्ण रूपमा तयार भएपछि मात्र अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न लागिएको जनाइएको छ ।
सिनेमाका निर्माता म्याक्स दीपेश खत्रीले सिनेमाको विदेश प्रदर्शनलाई लक्षित गर्दै वितरण सम्झौतामा अगाडि बढाउने तयारी भइरहेको बताए । उनका अनुसार डायस्पोरा अधिकार खरिदका लागि आएका प्रस्तावमा निर्माण समूहमा छलफल गरेर प्रदर्शन अधिकार बिक्री गरिनेछ ।
‘हामीले पहिला सिनेमा तयार गर्यौं, किनकि सिनेमा तयार नहुँदा अन्तराष्ट्रिय वितरकले खेप्नु परेको सास्तीसँग हामी जानकार छौँ । त्यसकारण हामीलाई प्रस्ताव आएता पनि पहिला सिनेमा तयार गरेर कुरा गर्छौँ भनेका थियौँ । अब हामीले सम्झौता गरेसँगै सिनेमा दिन सक्छौँ । हामी वैशाखको पहिलो सातासम्म सम्पूर्ण प्रदर्शन अधिकार बिक्री गर्ने तयारीमा छौं,’ निर्माता खत्रीले भने ।
गत फागुन २९ मा सार्वजनिक गरेको सिनेमाको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ एक महिना नपुग्दै एक करोड पन्ध्रलाख भन्दा बढी पटक युट्युबमा हेरिएको छ भने टिकटकमा हजारौं भिडिओ बनिसकेको छ । सिनेमाका लेखक तथा निर्देशक यम थापाले नेपाली सिनेमामा नदेखिएको कथालाई दर्शक माँझ ल्याउन लागिएको बताउँछन् ।
बर्दियाको राजापुरमा छायांकन गरिएको सिनेमामा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, प्रदीप ढकाल, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ । यो सिनेमाबाट विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् ।
‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र अर्का निर्देशक प्रदीप भट्टराईले तयार गरेका हुन् । सिनेमामा कार्यकारी निर्माता प्रदीप भट्टराई तथा निर्मातामा म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ छन् । सिनेमामा क्रिएटिभ निर्देशक जेबी रुवाली, छायांकन सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी र संगीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।



प्रतिक्रिया