सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकी प्रहरीमा मुद्धा दायर

सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकी प्रहरीमा मुद्धा दायर

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’ एक सातादेखि नेपाल प्रहरीको हिरासतमा छन् । बलात्कारको आरोप लागेका उनीविरुद्ध उजुरी नपरेकाले प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्धा चलाएर अनुसन्धान गरिरहेको छ । गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

यसैबीच, बलेविरुद्ध अमेरिकी प्रहरीमा पीडितले लिखित जाहेरी दिएकी छन् । अमेरिकाको न्युयोर्क सिटी पुलिस डिपार्टमेन्ट (एनवाईपीडी)मा उनले जाहेरी दर्ता गरेकी हुन् । घटना अमेरिकामै भएकाले पीडितले त्यहीँ जाहेरी दिएकी हुन् । जाहेरीसँगै अमेरिकी प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ । नेपाल प्रहरीसँगको सहकार्यमा सागरको बयान र अनुसन्धान हुनेछ ।

ती युवतीले सामाजिक सञ्जालमा गत शुक्रबार एक पोस्ट लेख्दै सागरमाथि बलात्कारको आरोप लगाएकी थिइन् । नेपाल प्रहरीले शुक्रबार साँझ बूढानीलकण्ठबाट त्यसकै आधारमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बलेलाई शुक्रबार पुनः म्याद थप गर्न लैजाने तयारीमा प्रहरी छ ।

करिब एक वर्षअघि सागरसँग अमेरिकामा भेट हुँदा राष्ट्रिय अवार्ड प्राप्त अभिनेत्री समेत रहेकी ती युवतीले आफू बस्ने अपार्टमेन्ट लैजान आग्रह गरेको र त्यहीँ आफू बलात्कृत भएको दाबी गरेकी थिइन् । ‘कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ ?’ भनेर उनले सागरलाई फेसबुकमा मेन्सन गर्दै प्रश्न समेत गरेकी थिइन् ।