हरि लम्साल निर्देशित ‘बाः एक योद्धा’मा एकसाथ देखिँदै झरना र सुहाना

हरि लम्साल निर्देशित ‘बाः एक योद्धा’मा एकसाथ देखिँदै झरना र सुहाना

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री झरना थापाले र छोरी सुहाना थापासँग पहिलो पटक एक सिनेमामा स्क्रिन सेयर गरेकी छन् । हाल छायांकनरत सिनेमा ‘बाः एक योद्धा’मा यी आमाछोरी एकसाथ देखिन लागेका हुन् । सिनेमामा पनि उनीहरू आमाछोरीकै भूमिकामा रहेको निर्देशक हरि लम्सालले जानकारी दिए । दुवैले अहिले एकसाथ ‘सट’ दिइरहेका छन् ।

गत चैत्र ९ गते पशुपतिनाथ मन्दिरमा सिनेमाको शुभ मुहूर्तसहित छायांकन सुरु गर्दा कलाकारहरूको नाम गोप्य राखिएको थियो । बिहीबार निर्माण पक्षले छायांकन सेटबाट झरना र सुहानाका तस्वीरहरू सार्वजनिक गर्दै सिनेमाका दुई मुख्य कलाकार चिनाएको हो । सिनेमामा अभिनेता दिव्य देवको पनि मुख्य भूमिका रहेको जनाइएको छ ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्देशक लम्साल स्वयंको कथा तथा पटकथा रहेको छ । संगीतकारको रुपमा परिचित उनले यही सिनेमाबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । सिनेमाका निर्माता वसन्त लम्साल हुन् । संगीतकार तथा गायक समेत रहेका लम्सालले यसअघि विपिन कार्कीलाई लिएर सिनेमा ‘कर्मा’ निर्माण गरेका थिए ।

यो सिनेमाले बाबुको महत्त्व र उनको अस्तित्वलाई दर्शाउने जनाइएको छ । निर्देशक लम्सालका अनुसार एउटा बाबुले आफ्नो सन्तानको भविष्य उज्वल बनाउनका लागि गर्ने अथक त्याग, जीवनभर झेल्ने चुनौती र संघर्षलाई सिनेमाको मुख्य कथावस्तु बनाइएको छ । यो सिनेमाका छायाँकार शिवराम श्रेष्ठ हुन् । मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् ।