द सिनेमा टाइम्स, काठमाडौं । नयाँ वर्षको दिन वैशाख १ गतेबाट नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउने सिनेमा ‘पहाड’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको कथावस्तुलाई चित्रण गरिएको सार्वजनिक ट्रेलरमा बेरोजगारी मानव विहिन रितिएको पहाड र पानीको समस्या देखाइएको छ ।
यो सिनेमाले अहिलेको नेपाल समसामयिक विषयमा उठान गरेको निर्देशक तथा लेखक तुलसी घिमिरेले जानकारी दिए । ‘पहाड सुन्दर ठाउँ हो, हामीले सुन्दरता र सद्भावसँगै रित्तो हुँदै गईरहेको पहाडको कथालाई चित्रण गरेका छौँ । यो कथा पहाडमा सेटअप गरिएको भएपनि यो समग्र देशकै चित्रण हो,’ उनले भने ।
सिनेमामा दनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, स्व। सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै डेव्यु अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ । ‘यो विषयलाई सिनेमाको माध्यमबाट आम दर्शकसम्म पुर्याउनु पर्छ भन्ने लागेर मैले बनाएको हुँ । यसमा मनोरन्जनसँगै एउटा महत्वपूर्ण संदेश पनि छ’, निर्देशक घिमिरेले भने, ‘ग्रामीण सौन्दर्य, धन कमाउन युवाले गाउँ छाड्नुपर्ने बाध्यता, सहरभन्दा गाउँ उपयुक्त रहेको लगायतका सन्देश सिनेमामा छ ।’
युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ । निर्देशक घिमिरेले यसपटक ‘बलिदान’मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई ‘पहाड’मा कास्ट गरेका छन् । सिनेमालाई प्रमोद प्रधानले छायांकन गरेका हुन् ।
भाग्यरत्न फिल्मस् प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’ मार्फत निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरे अभिनेत्री रुपमा डेब्यु गर्दैछिन् । यस्तै, सिनेमाको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् । सिनेमामा रञ्जित सिंह गजमेर संगीत निर्देशक रहेका छन् ।
उत्तम रसाइली प्रस्तुतकर्ता रहेको सिनेमामा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् । यो सिनेमामा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन् । सिनेमामा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शंकर कोइराला र भारती घिमिरेको सम्पादन छ ।


प्रतिक्रिया