द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विराज भट्टको मुख्य भूमिका रहेको सिनेमा ‘राम नाम सत्य’ आज शुक्रबारबाट नेपाली नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आएको छ । उच्च शोसहित प्रदर्शनमा आएको सिनेमाले पहिलो दिन दर्शकबाट उत्कष्ट प्रतिक्रिया पाइरहेको छ । विशेषगरी दर्शकले विराजको एक्सन अवतारलाई रुचाएका छन् ।
सिंगल रिलिजको अवसर पाएको यो सिनेमालाई हलहरूले देशव्यापी लगभग २०० शो उपलब्ध गराएका छन् । सिनेमाको ट्रेलर र दुई गीत धागोले बाटेको र हुम्लाको लिमीले सामाजिक सञ्जालमा भाइरल हुँदा पनि टिकट बुकिङ भने अपेक्षित देखिएको छैन् । बिहानी शोमा दर्शक अकुपेन्सी औषत रहँदा दिउँसोबाट ‘वर्ड अफ माउथ’को प्रभाव देखिँदै जाने विश्वास निर्माण टिमको छ ।
बक्सअफिसमा सिनेमाले पाइरहेको उत्कृष्ट वर्डअफ माउथको प्रभावसँगै बढ्दै जाने वितरक गोविन्द शाही बताउँछन् । माइकल चन्दको निर्देशनमा निर्माण भएको सिनेमामा विराजसहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनिल थापा, प्रशान्त ताम्राकार, आयुषसिंह ठकुरी, खुशी कार्की, दिनेश डिसी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
माइकल इन्टरटेन्मेन्टको हाउसको प्रस्तुतिमा निर्देशक चन्द स्वयंको लेखन रहेका सिनेमामा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्मातामा रहेका छन् । सिनेमामा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन, सियोन श्रेष्ठको कोरियोग्राफी, बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत तथा काला चरणको पार्श्व संगीत छ ।


प्रतिक्रिया