द सिनेमा टाइम्स, काठमाडौं । आगामी वैशाख २५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मालती मंगले’को टिजर सार्वजनिक भएको छ । गायक रामकृष्ण ढकालको प्रस्तुति रहेको सिनेमाको टिजरले गाउँले परिवेशमा आधारित एउटा रोचक र मार्मिक प्रेमकथाको झल्को दिएको छ ।
ग्रामीण समाजको पृष्ठभूमिमा खिचिएको सिनेमाको टिजरमा प्रेम, विश्वास र शंकाका विभिन्न पाटालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । सार्वजनिक टिजरमा विजय बराल र वर्षा राउतको भेटदेखि विवाहसम्मको यात्रालाई देखाइएको छ । एउटा संवादमा विजयले वर्षासँग ‘मेरो कारणले जुन दिन तिम्रो आँखामा आँसु आउँछ, त्यो दिन मंगले मरेसरह हुन्छ’ भन्दै गरेको प्रेममय वाचा सुनिन्छ । तर, विवाहपछिको जीवन भने त्यति सहज देखिँदैन ।
सार्वजनिक टिजरको अन्तिममा गाउँलेहरूको अगाडि विजयले वर्षालाई कुटपिट गर्दै ‘तैँले मलाई धोका दिइस्’ भन्दै आक्रोश पोखेका छन् । जसमा मालती (वर्षा) निकै अचम्मित र भावुक मुद्रामा देखिएकी छिन् । अर्का मुख्य कलाकार मेक्सम गौडेलले विजयलाई गाली गर्दै गरेको दृश्यले कथामा द्वन्द्वको संकेत गर्दछ ।
रानी फिल्मस्को ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको सिनेमालाई प्रकु पाण्डेयको निर्देशन गरेका हुन् । सिनेमाको कथा स्वयं निर्देशक पाण्डेय र पटकथा तथा संवाद संयोग गुरागाईँको रहेको छ । यसअघि सिनेमाको दुई गीत ‘सुनैको सपनी’ र ‘ढुंगा माथि लेऊ’ सार्वजनिक भइसकेका छन् ।
निर्माता ढकालका अनुसार यो सिनेमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीतिनाटक नभई हाम्रै समाजको परिवेशमा आधारित एक फरक सांगीतिक प्रेमकथा हो । सिनेमाका कार्यकारी निर्माता सागर ज्ञवाली तथा सह-निर्मातामा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ छन् ।
सिनेमामा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसहित नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुष्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीताश्री, राज पंगेनी, सुस्मिता गुरुङ र सागर भट्टराईको अभिनय छ ।
प्राविधिक पक्षमा महेश पौडेलको छायांन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रंग संयोजन र डिकेश खड्गीको ध्वनि मिश्रण, हर्क साउदको शब्द रचना, एसडी योगीको संगीत र रिकेश गुरुङको एरेन्ज र रोशन बिकको कोरियोग्राफी छ ।


प्रतिक्रिया