बैशाख २५ गते रिलिज हुने ‘गुरुआमा’को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

बैशाख २५ गते रिलिज हुने ‘गुरुआमा’को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी बैशाख २५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘गुरु आमा’को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतमा ममता गुरुङ र मोहन नेपालीको स्वर तथा प्रेम सोनी सुनारको शब्द रचना र बीबी अनुरागीको संगीत छ ।

एकेन्द्र सारा शंकरको कोरियोग्राफीमा निर्माण भएको गीतको भिडियोमा सिनेमाका कलाकारहरू मिथिला शर्मा, पूजा शर्मा, बुद्धि तामाङ, प्रेम सोनी सुनार लगायतले नृत्य गरेका छन् । विद्यालयको वनभोजमा शिक्षक–शिक्षिका र विद्यार्थीहरूबीचको रमाइलो र मित्रवत् सम्बन्धलाई भिडियोमा देखाइएको छ । बुझिए अनुसार पूजा सिनेमाको यो गीतमा मात्र देखिनेछिन् ।

यो सिनेमाको गीत रिलिज कार्यक्रममा मिथिला शर्माले विद्यार्थीदेखि शिक्षक-शिक्षिकाको कथामा सिनेमा निर्माण भएको बताइन् । ‘यसमा कुनै तामझम छैन । भयंकर फरक कथा लिएर आएका पनि छैनौँ । हामीले हाम्रै कुरा लिएर आएका हौँ । सिनेमामा विद्यालय, विद्यार्थी, अभिभावक, शिक्षक-शिक्षिकाको कुरा छ । यो सिनेमाको स्टार नै विषयवस्तु हो,’ उनले भनिन् ।

प्रेम सोनी सुनारको कथा तथा निर्देशन रहेको सिनेमामा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, सुशील पोखरेल, ध्रुव कोइराला, उत्तम केसी, राधिका हमाल लगायतको अभिनय देख्न सकिनेछ । सीता विश्वकर्मा र प्रेम सोनी सुनार निर्माता रहेको सिनेमामा सुशील पंगेनीको लेखन, शेरबहादुर तामाङ र मिराज अर्यालको छायांकन तथा मित्र देव गुरुङको सम्पादन छ ।