प्रिमियर शोमा रुचाइयो तुलसी घिमिरे निर्देशित ‘पहाड’, विपिन र डेव्यु गर्ल पञ्चमीको तारिफ

प्रिमियर शोमा रुचाइयो तुलसी घिमिरे निर्देशित ‘पहाड’, विपिन र डेव्यु गर्ल पञ्चमीको तारिफ

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली नयाँ वर्ष अर्थात् भोली वैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘पहाड’लाई प्रिमियरमा रुचाइएको छ । तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको सिनेमाको पहिलो दर्शक बनेका सेलिब्रेटीले सिनेमाको कथावस्तु र कलाकारको अभिनयको प्रसंशा खुलेर गरेका हुन् ।

बेरोजगारी, मानव विहिन रितिएको पहाड र पानीको समस्यालाई चित्रण गरिएको सिनेमा हेरेपछि निर्देशक तथा कलाकार नीर शाहले नेपाली मौलिक फिल्म हेर्न आपको प्रतिक्रिया दिए । ‘सिनेमाले हाम्रो नेपालीपनलाई उजागर गरेको छ । तुलसीजीले आफ्नो शैलीमा अहिलेको नेपालको समसामयिक विषयलाई सिनेमामा देखाउनुभएको छ । सिनेमाले हामीलाई हाम्रो पहाड देखाउँदै धेरै तथ्यसँग जानकार गराउँछ’, उनले भने ।

निर्देशक घिमिरेसँग ‘कुसुमे रुमाल’मा काम गरेका अभिनेता भुवन केसीले सिनेमा स-परिवार हेर्न मिल्ने बनेको प्रतिक्रिया दिए । ‘सिनेमा निकै राम्रो बनेको छ । सिनेमा हेर्दा रमाइलो लाग्छ, कता भावुक बनिन्छ । यो सिनेमा एउटा कम्प्लिट प्याकेज बनेको छ’, अभिनेता केसीले भने ।

निर्देशक घिमिरेसँग ‘दर्पणछायाँ’मा काम गरेका जीतु नेपालले सिनेमा हेर्दा भावुक बनेको बताए । ‘सिनेमा हेर्दा खुसी र भावुक भएको पत्तै नपाईने रहेछ । तुलसी सरले आफ्नै शैलीमा अहिलेको अवस्थालाई सिनेमामा देखाउनुभएको छ । सिनेमा निकै राम्रो बनेको छ । मैले सानै हुँदा देखेको पन्चमी हिरोइन बनेकी छिन्, उनले राम्रो काम गरेकी छिन् । पहाड सचिक्कै चट्टान नै बनेको छ । स–परिवार नयाँ वर्षमा सिनेमा हेर्दा हुन्छ’, अभिनेता नेपालले भने ।

यो सिनेमा हेर्ने निर्देशक दीपाश्री निरौला, दीपक आचार्य, दिवाकर भट्टराई, अभिनेता रमेश उप्रेती, किरण केसी लगायतले सिनेमाको प्रसंशा गरेका छन् । उनीहरूले सिनेमाले नेपालको वास्तविकता दर्शाएको प्रतिक्रिया दिए । निर्देशक तथा लेखक तुलसी घिमिरेले सिनेमाले पाएको प्रतिक्रियाले आफ्नो मेहनत सफल भएको बताए ।

यो सिनेमाको प्रिमियर शो पश्चात निर्देशक घिमिरेले भने, ‘पहाड सन्दर ठाउँ हो, हामीले सुन्दरता र सद्भावसँगै रित्तो हुँदै गईरहेको पहाडको कथालाई चित्रण गरेका छौँ । यो कथा पहाडमा सेटअप गरिएको भएपनि समग्र देशकै चित्रण हो । पहिलो दर्शक बन्नुभएका सिनेमाकर्मीमार्फत पाएको प्रतिक्रियाले निकै उत्साहित छु ।’

सिनेमामा दनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै डेव्यु अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ । अभिनेता अरुण क्षेत्रीले सानैदेखि हेर्दै आएको सफल सिनेमाका निर्देशक घिमिरेसँग काम गर्न पाउनु सौभाग्य रहेको बताए । ‘मेरो लागि आजको दिनको निकै महत्वपूर्ण छ, यो क्षणलाई व्यक्त गर्न सक्ने शब्द नै छैन । सिनेमामा मलाई विश्वास गरेर मौका दिनुभयो, म निकै कृतज्ञ छु । सिनेमा राम्रो बनेको प्रतिक्रियाले निकै उत्साहित छु । दर्शकको प्रतिक्रियाको प्रतीक्षामा छु’, उनले भने ।

निर्देशक घिमिरेकी कान्छी छोरी पन्चमी यो सिनेमाबाट अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् । निर्देशक घिमिरेसँगै निर्देशन समूहमा रहेर काम गरेकी पन्चमीले पर्दा अगाडिको अनुभव नौलो र फरक रहेको प्रतिक्रिया दिईन् । ‘आफूलाई पर्दामा हेर्दा छुने अनुभूति हुने रहेछ, म प्रिमियरमा अरूको प्रतिक्रिया लिईरहेको थिएँ । म आफ्नो कामको रिभ्यू लिईरहेकी छु, यो मेरो लागि पहिलो काम हो । आफ्ना अग्रजमार्फत धेरै सिक्ने अवसर पाएकी छु’, अभिनेत्री घिमरेले भनिन् ।

सिनेमामा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ । निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन् । सिनेमालाई प्रमोद प्रधानले छायांकन गरेका हुन् ।

भाग्यरत्न फिल्मस् प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’को प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् । सिनेमाका संगीत निर्देशक रञ्जित सिंह गजमेर हुन् । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको सिनेमामा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् । यो सिनेमामा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन् ।

नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्मस्‌ले वितरण गर्ने सिनेमाको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । सिनेमामा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शंकर कोइराला र भारती घिमिरेको सम्पादन छ ।