द सिनेमा टाइम्स, काठमाडौं । छायांकनरत सिनेमा ‘पाँच पाण्डव’मा कलाकार सुशील सिटौलाको प्रवेश भएको छ । झापाका विभिन्न स्थानमा छायांकन भइरहेको सिनेमामा सुशील मुख्य भूमिकामा अनुबन्धित भएका हुन् ।
‘उहाँ (सुशील सिटौला) मुख्य भूमिकामध्ये एकमा अनुबन्ध हुनु भएको छ । पाँच पाण्डवमध्ये एकको भूमिकामा काम गर्नु हुनेछ,’ सिनेमाका प्रस्तुतकर्ता नवीन श्रेष्ठले भने, ‘हामीले खोजेस्तै अब्बल कलाकार हाम्रो सिनेमामा भित्र्याएका छौँ ।’ उनले अब हरिवंश आचार्यलगायत कलाकारसँग स्क्रिन सेयर गर्नेछन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको सिनेमालाई निर्देशक वसन्त निरौलाले निर्देशन गरिरहेका छन् । यो सिनेमामा केही समयअघि भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरी पनि भित्रिएका थिए । गत चैत २ गते नेपाल-भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन थालिएको सिनेमामा नेपाली सिनेमाका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ काम गरिरहेका छन् ।
सिनेमामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिने छन् । उहाँहरुसहित सिनेमामा दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया लगायतको पनि मुख्य भूमिका रहने छ ।
सिनेमा ‘पाँच पाण्डव’ सोसल ड्रामा भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार सिनेमाले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ । प्रस्तुतकर्ता नवीन श्रेष्ठले यसअघि गतवर्ष सिनेमा ‘लाज शरणम्’ निर्माण गरेका थिए ।
सिनेमाको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन् । सिनेमाको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिनेछ । झापाको सेड्युल सकिएपछि टोलीले अन्य स्थानको लागि यात्रा तय गर्ने निर्देशक निरौलाले बताए । कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको सिनेमालाई श्याम तामाङले खिचिरहेका छन् ।


प्रतिक्रिया