निर्देशक राज बहादुर सानेको जन्मदिनमा ‘गंगारानी’ निर्माण घोषणा

निर्देशक राज बहादुर सानेको जन्मदिनमा ‘गंगारानी’ निर्माण घोषणा

द सिनेमा टाइम्स
245
Shares

द सिनेमा टाइम्स, काठमाडौं । लेखक तथा निर्देशक राजबहादुर सानेले नयाँ वर्ष २०८३ तथा आफ्नो जन्मदिनको अवसर पारेर नयाँ सिनेमा निर्माणको घोषणा गरेका छन् । मंगलबार आहा फिल्मस्‌को ब्यानरमा निर्माण हुने सिनेमा ‘गंगारानी’को औपचारिक घोषणा गरिएको हो ।

राष्ट्रिय पुरस्कार विजेता सानेकै लेखन तथा निर्देशनमा निर्माण हुने सिनेमा ‘गंगारानी’ आगामी जेठको अन्त्यतिर छायांकनमा जाने तयारीमा रहेको छ । प्रेमकथामा आधारित सिनेमाका कलाकार तथा अन्य प्राविधिकहरू टुंगो लाग्न बाँकी रहेको निर्देशक सानेले जानकारी दिए ।

सिनेमाको औपचारिक घोषणासँगै थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा एक युवक गिटार बोकेर उभिएको देखिन्छ भने एक युवती गाडीमा आड लिएर उभिएकी छन् । सिनेमामा गरिब युवक र धनी युवतीबीचको प्रेमकथा प्रस्तुत गरिने निर्देशक सानेले बताए ।

निर्देशक सानेले झण्डै एक दर्जन सिनेमामा काम गरिसकेका छन् । ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेण्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ लगायतका सिनेमामा लेखक तथा निर्देशकको भूमिका निवार्ह गरिसकेका छन् । सिनेमा ‘बुलाकी’बाट उनले उत्कृष्ट पटकथातर्फ राष्ट्रिय पुरस्कारसमेत जित्न सफल भएका थिए ।