द सिनेमा टाइम्स, काठमाडौं । जितु नेपालको मुख्य भुमिका रहेको सिनेमा ‘कार्की साइँला’को पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ । नयाँ वर्षको अवसर पारेर निर्माण टिमले आगामी साउन १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।
सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार जितु नेपाललाई भरियाको रुपमा देखाइएको छ । उनले बोकेको डोकोको पहाडमा पाँच जना भरिया कतै हिँडिरहेको पनि देख्न सकिन्छ । आकाशमा चराहरु उडिरहेका छन् । सिनेमाको कथाको केहि अंश पोस्टरमा नै रहेको अनुमान गर्न सकिन्छ ।
सार्वजनिक पोस्टरको तल एक जोडीको प्रेमिल अवतार पनि देख्न सकिन्छ । एक युवतीले पुरुषको कुममा टाउको राखेकी छन् । ति को हुन् त भन्ने दर्शकमाझ कौतुहलता पैदा गर्छ ? पोस्टरमा जितुलाई आकर्षक र फरक लुक्समा देख्न सकिन्छ । यो सिनेमा अहिलेसम्मकै फरक लाग्छ ।
हास्य कलाकारका रुपमा परिचित जितुलाई यो सिनेमाका निर्देशक राजेन्द्र बस्नेतले एक भरियाको भूमिकामा प्रस्तुत गरेका छन् । जुन सार्वजनिक पोस्टर हेर्दै थाहा हुन्छ । पुर्वी नेपालको धनकुटा, सुनसरीको बराहक्षेत्र, चतरा लगायस्थानमा खिचिएको यो सिनेमामा जितु नेपालसहित प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतका कलाकारको अभिनय छ ।
कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण तथा बालकुमार राई निर्माता रहेको सिनेमाका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् । रोजल थापा मुख्य सहायक निर्देशक रहेको सिनेमामा डम्बर राईको छायांकन, किरण दाहालको द्धन्द्व निर्देशन, दिप्सन लिम्बुको संगीत र सिबी भण्डारीको प्रोडक्सन डिजाइन छ । सिनेमाको वितरण कुबेर सिने डिष्ट्रीब्युसनले गर्दैछ ।



प्रतिक्रिया