द सिनेमा टाइम्स, काठमाडौं । छायांकनको तयारीमा रहेको सिनेमा ‘महाराजधिराज’को मुख्य भूमिकामा अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन् । निर्माण टिमले नयाँ वर्षको दिन पुष्पलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै पोस्टर समेत सार्वजनिक गरेको हो ।
लामो समयदेखि ‘महाराजधिराज’मा राजाको भूमिका कसले निर्वाह गर्ला भन्ने कौतुहलतालाई मेटाउँदै निर्माण टिमले पुष्पको नाम फाइनल गरेको हो । सार्वजनिक पोस्टरमा पुष्पलाई दुईवटा विपरीत र शक्तिशाली लुक्समा देखाइएको छ ।
सार्वजनिक तस्बिरमध्ये एउटामा पुष्प पूर्ण राजकीय ठाँटमा देखिएका छन् । उनले शिरमा श्रीपेच, हातमा राजदण्ड र शरीरमा राजर्षि पहिरन लगाएका छन् । जसले उनी सिनेमामा राजाको भूमिकामा रहेको स्पष्ट संकेत गर्छ । तर, अर्को तस्बिरमा भने उनी पूर्ण नग्न र शारीरिक रूपमा अत्यन्तै दुब्लो एवं कमजोर अवस्थामा देखिएका छन् । एक ‘भिन्जेट’ कुर्सीमा बसेका ती कमजोर पात्रको पछाडि राजाको पोशाकमा सजिएका पुष्प उभिएका छन् ।
यी दुई अवतारले सिनेमाको कथावस्तु निकै गहिरो र प्रतिकात्मक रहेको बुझ्न सकिन्छ । निर्माण पक्षले पोस्टरका साथमा एउटा अर्थपूर्ण स्लोगन पनि सार्वजनिक गरेको छ, ‘सत्कर्म सद्भावका कदमले हरपल साथ निभाओस्, वैमनस्यता बेइमानी संकट कुनै पल नजिक नआओस् ।’
पुष्पले यो सिनेमा साइन गर्दा आफ्नै औंला काटेर रगतको औंठा छाप लगाएका थिए । सामान्यतया कलाकारहरूले कागजमा हस्ताक्षर गरेर साइन गर्ने चलन छ । पुष्पले यो भूमिकालाई आफ्नो करिअरको सबैभन्दा ठूलो अवसर र चुनौतीका रूपमा लिएका छन् । ‘महाराजधिराज’को पोस्टरले थ्रिलर वा पिरियड ड्रामाको झल्को दिएको छ ।
बैशाखको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमामा कलाकारको लाइनअप निर्देशक परिच्छेद सेनले निकै बलियो बनाएका छन् । सिनेमामा पुष्पसहित नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती, वर्षा राउत, उषा रजक, हिउँवाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेल लगायतका कालाकारको पनि अभिनय रहनेछ ।
निर्देशक सेनको ड्रिम प्रोजेक्ट ‘महाराजधिराज’मा अन्य ८० जना कलाकार रहनेछन् । पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण देखाउन टिमले स्टारकास्टलाई अनुबन्ध गरेको छ । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले नयाँ र अग्रज गर्दै अभिनयमा अब्बल कलाकार आफूहरूको पहिलो रोजाइमा परेको बताए । यो सिनेमाको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु गरिनेछ ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने सिनेमाको त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा खिचिनेछ । नवराज थापाले सिनेमालाई क्यामरामा कैद गर्नेछन् । सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ । यसअघि उनले निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।
‘महाराजधिराज’को निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट छन् । निर्माण टिमका अनुसार ‘महाराजधिराज’लाई आगामी बडादशैंको फूलपातीका अवसरमा देशव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।



प्रतिक्रिया