द सिनेमा टाइम्स, काठमाडौं । मुस्कान ढकालको निर्देशनमा निर्माण हुने सिनेमा ‘रत्यौली’मा अभिनेता विजय बराल र अभिनेत्री पूजा शर्मा पहिलो पटक एकसाथ देखिने भएका छन् । मंगलबार नयाँ वर्षको अवसरमा निर्माण पक्षले दुवैलाई प्रस्तुत गर्दै ‘रत्यौली’को पोस्टर सार्वजनिक गर्दै उनीहरूको जोडी बाँधिन लागेको जानकारी दिएको हो ।
सार्वजनिक पोस्टरमा विजय र पूजा रत्यौली नाचिरहेका देखिन्छन् । पूजा जुँगासहित पुरुषको पहिरनमा देखिएकी छन् भने विजयलाई पनि जुँगा र लामो घुम्रिएको कपालसहित खुसी मुद्रामा देख्न सकिन्छ । उनीहरूको पछाडि महिलाहरू थपडी बजाउँदै नाचगानमा रमाइरहेका देखिन्छन् । पोस्टर हेर्दा सिनेमाको कथा रत्यौली नाच र त्यसको रमाइलोमा आधारित हुने अनुमान गर्न सकिन्छ ।
नाइटिङ्गेल इन्टरटेन्मेन्ट र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमालाई सुरज आचार्यले निर्माण गर्नेछन् । अभिनेत्री पूजा शर्मा सिनेमाको प्रस्तुतकर्ता छिन् । एक सय भन्दा बढी नेपाली सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा काम गर्दै आएका सुरज आचार्यले सुपरहिट भारतीय सिनेमामा पनि लाइन प्रोड्यूसरको रुपमा काम गरेका छन् ।
निर्माता आचार्यले बलिउड सिनेमा ‘उचाइँ, फर्जी, मिराई, टाइसन नाइडु, दशका दम’ लगायतका सिनेमामा लाइन प्रोड्यूसरको रुपमा काम गरिसकेका छन् । उनै, सुरज ‘रत्यौली’ निर्माणमा अगाडि सरेका हुन् । ३२ वर्षदेखि सिनेमा क्षेत्रमा सक्रिय सुरज आचार्यले ‘मेरो लभ स्टोरी, कर्मयोद्धा’मा सह-निर्माता र ‘वरमाला’मा निर्माताको रुपमा काम गरिसकेका छन् ।
‘रत्यौली’बाट निर्देशक ढकाल करिब ७ वर्षपछि निर्देशनमा फर्किँदैछन् । एक दर्जन सिनेमामा सहायक निर्देशक भएर काम गरेपछि उनले सन् २०१५ मा सिनेमा ‘नाइँ नभन्नू ल ३’बाट निर्देशनमा डेब्यू गरेका थिए । यसपछि उनले लेखक सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’माथि सिनेमा निर्माण गरेका छन् । ‘रत्यौली’ उनको तेस्रो निर्देशकीय सिनेमा हो ।



प्रतिक्रिया