नयाँ वर्षको दिनमा रिलिज भयो तुलसी घिमिरे निर्देशित ‘पहाड’

नयाँ वर्षको दिनमा रिलिज भयो तुलसी घिमिरे निर्देशित ‘पहाड’

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । वैशाख १ गते नेपाली नयाँ वर्षको दिनमा सिनेमा ‘पहाड’ नेपालभर प्रदर्शन आएको छ । बेरोजगारी, मानव विहिन रितिएको पहाड र पानीको समस्यामा आधारित सिनेमालाई वरिष्ठ निर्देशक तुलसी घिमिरेले निर्देशन गरेका हुन् ।

यो सिनेमाले अहिलेको नेपाल समसामयिक विषयमा उठान गरेको निर्देशक तथा लेखक तुलसी घिमिरेले जानकारी दिए । ‘पहाड सन्दर ठाउँ हो, हामीले सुन्दरता र सद्भावसँगै रित्तो हुँदै गईरहेको पहाडको कथालाई चित्रण गरेका छौँ । यो कथा पहाडमा सेटअप गरिएको भएपनि यो समग्र देशकै चित्रण हो,’ उनले भने । निर्देशक घिमिरेका अनुसार आज सिनेमाका कलाकारले काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्नेछन् ।

सिनेमामा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै डेव्यु अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ । सिनेमामा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ ।

भाग्यरत्न फिल्मस् प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’ मार्फत निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेले अभिनेत्रीको रुपमा डेब्यु गर्दा जेठी छोरी भावना घिमिरेले सिनेमाको प्राविधिक टिममा प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छन् । प्रमोद प्रधानले छायांकन गरेको सिनेमामा रञ्जित सिंह गजमेर संगीत निर्देशक रहेका छन् ।

उत्तम रसाइली प्रस्तुतकर्ता रहेको सिनेमामा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् । यो सिनेमामा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन् । नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गरेको छ ।

रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गरेको सिनेमामा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शंकर कोइराला र भारती घिमिरेको सम्पादन छ ।