द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री केकी अधिकारीले नयाँ वर्षको अवसर पारेर ‘स्टेशन’ नाममा सिनेमा निर्माणको घोषणा गरेकी छन् । ‘वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ । तर, सपनाको रंग उस्तै रहन्छ । त्यही रंगले कोरेको हाम्रो नयाँ यात्रा स्टेशन,’ केकीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।
‘हामी नयाँ सोच र कथासहित आउने नयाँ वर्षको यो अवसरमा प्रण गर्छौं,’ केकी भन्छिन्, ‘बदलिएको समयमा बदलिएको अथवा फरक कथा लिएर आउने छौँ ।’ यो सिनेमा आगामी भदौ १९ गते रिलिज हुने जानकारी समेत उनले दिएकी छन् ।
गत वर्ष सफल सिनेमा ‘बोक्सीको घर’ दिएकी उनले सोही टिमसँग मिलेर नयाँ सिनेमा निर्माण गर्न लागेकी हुन् । ‘स्टेशन’लाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् । कथा पनि निर्देशक स्वयंको रहनेछ । सिनेमाको निर्मातामा बद्री अधिकारी छन् ।
केकी अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । पुरानो दराजजस्तो देखिने काठभित्र केही सामग्री देखिन्छ । तर, के सामग्री हो त्यो प्रस्ट देखिएको छैन । थिम पोस्टरले सिनेमा सोसल ड्रामा रहेको संकेत गरेको छ ।
सिनेमामा को-को कलाकार रहनेछन् भन्ने केही खुलाइएको छैन । कलाकार र प्राविधिक टिमबारे केही समयपछि जानकारी दिने केकीले बताइन् ।



प्रतिक्रिया