द सिनेमा टाइम्स, काठमाडौं । वैशाख १ गते नेपाली नयाँ बर्ष ०८३ को पहिलो दिनको अवसर पारेर ‘जदौ’ सिनेमाको पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ । अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा निर्माण भएको सिनेमा ‘जदौ’ आगामी भदौ १२ गते प्रदर्शन हुने जानकारी दिइएको हो ।
सिल्भर स्क्रीन इन्टरटेन्मेन्टको सहकार्यमा समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको प्रस्तुति रहेको सिनेमाको सार्वजनिक पोस्टरमा प्रमुख कलाकार मुकुन भुसाल, रिचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी र राजश्री थापा फरक-फरक भावमा प्रस्तुत छन् ।
अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण भएको सिनेमाको सह-निर्मातामा रामराजा सुवेदी, सुमित्रा देवकोटा, नारायण शास्त्री, अर्जुन खड्का र गोकुल केसी छन् । श्याम तामाङले खिचेको सिनेमाको स्क्रीप्ट निर्देशक काजी स्वयमले लेखेका हुन ।
सिनेमामा सिपी पुडासैनी (धतुरे), बिनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, खड्गबहादुर पुन (खबपु), बिशाल पहाडी, सुन्दर धिताल, नरेश पौडेल लगायतका कलाकारको अभिनय छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमाका गीतमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत छ ।
सिनेमाको पोस्टर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सिनेमाप्रति दर्शकको उत्सुकता बढ्न थालेको दाबी निर्माण टिमको छ । निर्माण टिमले चाँडै ट्रेलर तथा थप प्रचार सामग्री सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । सिनेमाको बितरण एनसिजीएनले गर्दैछ भने हाइ टेक इन्टरटेन्मेन्ट डिजिटल पार्टनर रहेको छ ।


प्रतिक्रिया