लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशनमा ‘कोटी कोटी प्रमाण’ घोषणा

लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशनमा ‘कोटी कोटी प्रमाण’ घोषणा

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं । रंग पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीले नयाँ वर्षको दिनमा सिनेमा ‘कोटी कोटी प्रणाम’को निर्माण घोषणा गरेका छन् । गत वर्ष प्रदर्शन भएको ‘सतीदेवी’बाट प्रशंसा बटुलेका निर्देशक सुवेदीले मंगलबार सिनेमाको घोषणा गर्नुअघि काठमाडौंको गौरीघाटस्थित हनुमान मन्दिरमा हनुमान पूजन, सामुहिक १०८ हनुमान चालीसा पाठ र हवन गरेका थिए ।

यो सिनेमाको निर्माण घोषणासहित ‘टाइटल पोस्टर’ पनि सार्वजनिक गरिएको छ । जसमा शीर्षकलाई केसरी रंगमा तयार पारिएको छ भने त्यसमा धर्म ध्वजा पनि देख्न सकिन्छ । यसले धार्मिक कथावस्तुमा सिनेमा निर्माण हुने संकेत गर्छ । त्यसो त सिनेमाको नाम पनि धार्मिक नै सुनिन्छ । तर, सिनेमा धार्मिक कथावस्तुमा आधारित नरहेको निर्देशक सुवेदीले बताए ।

उनले भने, ‘यो धार्मिक सिनेमा होइन् । यसको कथावस्तु धर्मसँग जोडिएको छैन् । भगवानप्रतिको आस्था र सम्मानस्वरूप यो नाम राखेको हुँ । यो विशुद्ध सामाजिक विषयवस्तुमा आधारित छ । पारिवारिक पुनर्मिलनको कथामा सिनेमा निर्माण हुनेछ ।’ यो सिनेमाले समाजलाई सोच्न बाध्य पार्ने विषय उठाउने दाबी निर्देशक सुवेदीको छ ।

दिलासा क्रियसनको ब्यानरमा निर्माण हुने सिनेमामा उनी स्वयंको लेखन तथा गीत रचना छ । कर्णाली प्रदेशको सुर्खेत जिल्लामा आगामी भदौ पहिलो हप्ताबाट छायांकन गरिने सिनेमामा कलाकार र प्राविधिक फाइनल भएका छैनन् । नयाँ र पुराना कलाकारको संयोजन रहने सिनेमाका लागि अहिले कलाकार छनोटको काम चलिरहेको निर्देशक सुवेदी बताउँछन् ।