द सिनेमा टाइम्स, काठमाडौं । यम थापाको निर्देशनमा निर्माण भएको सिनेमा ‘लालीबजार’ यतिवेला चर्चाको शिखरमा छ । सार्वजनिक प्रचार सामाग्री पोस्टर, टिजर र गीतका कारण सिनेमाले दर्शकमाझ उच्च हाइप बनेको हो । यो सिनेमाको गीत ‘मायालाई के दिउँ म बैना’ले तीन हप्तामा एक करोड बढि भ्युज पाएको थियो ।
यसैले पनि सिनेमाको निर्माण टिम ‘लालीबजार’लाई लिएर उत्साहित देखिन्छ । निर्देशक यम थापाले ‘रज्जा रानी’, ‘हुर्रे’, ‘मेरी मामु’ जस्ता विषयप्रधान सिनेमाको निर्देशन गरिसकेका छन् भने ‘कोहिनूर’, ‘अञ्जिला’, ‘परान’ लगायतका सिनेमाको पटकथामा काम गरिसकेका छन् । कथाकै छलफलका क्रम निर्देशक थापासँग षट्कोण आर्ट्सको सहकार्य भएको थियो ।
‘षट्कोण आर्ट्सले तराईको विषयमा एउटा सिनेमा बनाउने तयारी गरेको थियो, सोहिक्रममा छलफल गर्न हाम्रो भेट भएको थियो । छलफलकै क्रममा राम्रो कथा पाएमा लगानी गर्ने रवीन्द्रसिंह बानियाँले भन्नुभयो । मसँग रहेको आमाको विषय दिए, केही दिनमा यसमा काम गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त भयौँ । त्यसरी नै ‘लालीबजार’को सुरुआत भएको हो’, निर्देशक थापाले भने ।
उनले कथा दिएता पनि सिनेमाको निर्देशन गर्ने सोच बनाएका थिएनन् । षट्कोण आर्ट्सका सिनेमालाई प्रदीप भट्टराईले नै निर्देशन गरिरहेका थिएँ । आफ्नो कथालाई राम्रो निर्देशकलाई सुम्पेकोमा निर्देशक थापा खुसी नै थिएँ । तर, उनै निर्देशक भट्टराईले लेखक थापालाई निर्देशन गर्न प्रस्ताव गरेका थिए ।
‘मैले कथा दिएँ, त्यसको पटकथामा पनि छलफल भयो । मलाई प्रदीप भट्टराईले नै निर्देशन गर्नुहुन्छ भन्ने लागेको थियो, तर षट्कोण आर्ट्सले मलाई निर्देशनको प्रस्ताव गर्नुभयो । उहाँहरू कसैले निर्देशन गर्ने चर्चा नै गर्नुभएन, सिनेमालाई राम्रो बनाउन सबैले मेहनत गर्नुभयो’, निर्देशक थापाले भने ।
सिनेमाको पटकथा लगभग फाइनल भएपछि छायांकनस्थल खोज्ने क्रममा निर्देशक भट्टराईले नै सिनेमाको नाम ‘लालीबजार’ राख्न प्रस्ताव गरे, जसमा सबै सहमत भए । निर्देशक थापाले सिनेमाको विषयवस्तुलाई नखुलाएता पनि आमाछोरीको कथामा भएको बताए ।
‘मैले धेरै अगाडिदेखि देख्दै र बुझ्दै आएको एउटा कथालाई सिनेमाको स्वरूप दिएको छु । यो आमा र छोरीको कथा हो, जो एक समुदायको छन् । सिनेमाले हाम्रो समाजको एउटा पाटोलाई चित्रण गरेको छ । यो सिनेमाले हामीलाई सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’, निर्देशक थापाले भने ।
षट्कोण आर्ट्सले निर्माण गरेको सिनेमा ‘लालीबजार’ आगामी वैशाख १८ मा प्रदर्शन हुँदैछ । सिनेमामा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ । यो सिनेमाबाट विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् ।
बर्दियाको राजापुरमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक थापा र पटकथा तथा संवाद लेखनमा निर्देशक प्रदीप भट्टराईले सघाएका छन् । म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् ।
सिनेमामा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट) र संगीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको छ ।


प्रतिक्रिया