आमाको संघर्ष र सफलताको कथा ‘लालीबजार’को ट्रेलर सार्वजनिक

आमाको संघर्ष र सफलताको कथा ‘लालीबजार’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । यम थापाको निर्देशनमा निर्माण भएको सिनेमा ‘लालीबजार’को ट्रेलर सार्वजनिक गरिएको छ । गत शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेत्री स्वस्तिमा खड्कालाई केन्द्रमा राखिएको छ ।

सिनेमाको सार्वजनिक ट्रेलरमा आमा र छोरी बीचको कथा देखाइएको हो । बादी समुदायको महिलाको भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत भएकी छिन् । सार्वजनिक ट्रेलरमा स्वस्तिमासहित रवीन्द्र सिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, बालकलाकार समाइरा थापा र डेब्यु कलाकारद्वय प्रशंसा सुवेदी र विशाल देवकोटा फिचर्ड छन् ।

अभिनेत्री खड्काले सिनेमा ‘लालीबजार’ आमाको संघर्ष र सफलताको कथा रहेको बताइन । उनले भनिन्, ‘लालीबजार मेरो लागि निकै स्पेसल सिनेमा बनेको छ । मैले गरेका सिनेमाहरूमा धेरै समयमा सम्झिने र आगामी धेरै वर्षसम्म कुरा हुने सिनेमामा यो पर्नेछ । म यो कथालाई लिड गर्न पाउँदा वा आमाको कथा प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छु ।’

अभिनेता रवीन्द्र सिंह बानियाँले सिनेमाले एउटा महिलाको जीवनका विभिन्न आयामलाई समेटेको बताए । ‘हामीले एउटा सेटअपमा फिल्मको कथा व्यक्त गरेका छौं, तर यो आमा र छोरीको कथा हो । बाध्यता, विश्वस्ता, संघर्ष र सफलतालाई यसमा देखाइएको छ’, उनले भने ।

निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आट्र्सले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल सिनेमा निर्माण गरिसकेका छन् । यद्यपि आगामी सिनेमा ‘लालीबजार’मा निर्देशक प्रदीप भट्टराईले निर्देशनको जिम्मा यम थापालाई दिएका छन् ।

‘लालीबजारको कथा निर्देशक थापाले नै ल्याउनुभएको हो, त्यसकारण यसलाई उहाँले नै नयाँ गर्नसक्नु हुन्छ भन्ने लगेर हामीले निर्देशनको प्रस्ताव गरेका हौँ । अहिले हामीले सही निर्णय गरेका थियौँ भन्ने लागेको छ, सिनेमामा निर्देशकको दिमागसँगै उहाँको देखाई र बुझाइ मिसिएको छ’, कार्यकारी निर्माता प्रदीप भट्टराईले भने ।

‘मैले धेरै अगाडिदेखि देख्दै र बुझ्दै आएको एउटा कथालाई सिनेमाको स्वरूप दिएको छु । यो आमा र छोरीको कथा हो, जो बादी समुदायको छन् । सिनेमाले हाम्रो समाजको एउटा पाटोलाई चित्रण गरेको छ । यो सिनेमाले हामीलाई सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’, निर्देशक थापाले भने ।

आगामी वैशाख १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमामा अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय छ ।

निर्देशक थापाको कथा लेखन रहेको सिनेमाको पटकथा र संवाद थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा लेखेका हुन् । म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता अनि कार्यकारी निर्माता प्रदीप भट्टराई रहेको सिनेमामा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी र संगीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको छ ।