द सिनेमा टाइम्स, काठमाडौं । गणेश देव पाण्डेको निर्देशनमा निर्माण भएको सिनेमा ‘पारी बुटोल’को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक सिनेमाको १ मिनेट ४० सेकेण्ड लामो टिजरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पारेको हो । टिजरमा बुटोलका दुई ग्याङबीचको झडपलाई टिजरको केन्द्रमा राखिएको छ । यसले सिनेमा ग्याङ्स्टर कथामा निर्माण भएको प्रस्ट पार्छ ।
कलाकारहरूको अभिनय, महेश पौडेलको छायांकन, जटावेदा बेनर्जीको पार्श्व संगीत र र्यापर सुरज क्षेत्री (भ्योमा)को गीतको संयोजन टिजरमा बेजोड देखिएको छ । कलाकारहरूको लुक्स र गेटअपले सिनेमाप्रति दर्शकको उत्सुकता बढाउने देखिन्छ । अनुप बराल, दीया मास्के, सुशील सिटौला लगायतका कलाकारलाई टिजरमा देख्न सकिन्छ ।
यो सिनेमाका लेखक तथा निर्देशक पाण्डेका अनुसार ‘पारी बुटोल’ केवल ग्याङ्स्टर मात्र होइन । उनी भन्छन्, ‘यो युवाहरू, उनीहरूको परिवार, संघर्ष र सफलता प्राप्त गर्ने होडमा सामना गर्नुपर्ने चलखेललाई सामान्य बनाउने प्रयासको कथा हो । सिनेमाले दर्शकलाई एकदमै लोकल र यथार्थपरक अनुभूति दिनेछ ।’
ल्याक्सी श्रेष्ठले निर्माण गरेको सिनेमामा मनिषा अधिकारी सह-निर्माताको रूपमा छन् । सिनेमामा अनुप, दीया र सुशीलसहित अविरल प्रताप अधिकारी, कामेश्वर चौरासिया, दिव्य देव, आकांक्षा केसी, किरण श्रेष्ठ, अदिती शेर्पा, आदि मिश्र लगायतका कलाकारको पनि अभिनय रहेको छ । यसमा लोकेश बज्राचार्यको सम्पादन तथा एनबी महर्जनको द्वन्द्व निर्देशन छ ।


प्रतिक्रिया