द सिनेमा टाइम्स, काठमाडौं । गत वर्षको सुपरहित सिनेमा ‘परान’ फेम्ड निर्देशक दीपक प्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण हुने सिनेमा ‘चिरञ्जीवी भवः’को नेपाली नयाँ वर्षको अवसर पारेर वैशाख १ गते घोषणा गरिएको थियो ।
‘चिरञ्जीवी भवः’ दीपकले निर्देशन गर्ने दोस्रो सिनेमा हो । उनको पहिलो निर्देशकीय सिनेमा ‘परान’ गत वर्ष प्रदर्शनमा आएको सर्वाधिक कमाउने सिनेमा समेत हो । सिनेमाले हजुरबुबा र नातीको कथामा बन्ने जनाइएको छ । यो सिनेमाबाट मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझीले नेपाली रजतपटमा डेव्यु गर्ने भएकी छन् ।
यसअघि प्रकाश दुतराजको गीत ‘मनमाया’बाट चर्चामा आएकी प्रशंसालाई अब दर्शकले ठूलो पर्दामा हेर्न पाउने भएका हुन् । करिब ८ वर्षअघि ‘लिटिल मिस हेरिटेज नेपाल’को उपाधि समेत जितेकी प्रशंसाको नयाँ म्यूजिक भिडियो ‘मनमाया’ अहिले हिट भैरहेको छ । यसमा उनको अभिनय र नृत्यको प्रशंसा भइरहेको छ । यसअघि उनले केही विज्ञापनहरूमा पनि काम गरिसकेकी छन् ।
आइतबार निर्माण टिमले एक पोस्टरमार्फत उनलाई सिनेमा ‘चिरञ्जीवी भवः’मा अभिनेत्रीको रुपमा स्वागत गरेको छ । सिनेमामा अनुबन्धित भएपछि उनी उत्साहित देखिएकी छन् । सिनेमाको कथावस्तु राम्रो लागेपछि काम गर्न तयार भएको उनको भनाइ छ ।
सिनेमाको कथा कुमार कट्टेल ‘जिग्री ब्रो’ले लेखेका हुन् । कुमार र दीपकले यसअघि ‘भद्रगोल’ र ‘सक्किगोनि’ सिरियलमा सहकार्य गरेका थिए । सिनेमामा सविन अधिकारी र वसन्त न्यौपाने लेखकका रूपमा रहेका छन् । हाल स्क्रिप्टको अन्तिम ड्राफ्टमा काम भइरहेको जनाइएको छ । निर्माण पक्षका अनुसार आगामी डेढदेखि दुई महिनाभित्र सिनेमाको छायांकन सुरु गरिनेछ ।



प्रतिक्रिया