द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘काजी’को प्रीभ्यूले सकारात्मक प्रतिक्रिया पाएको छ। लक्ष्मण रिजालको निर्देशनमा बनेको सिनेमाको प्रीभ्यूमा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारीबीचको एक संवाद प्रस्तुत गरिएको छ। सिनेमाको शीर्षक अनुसार नै उनिहरू काजी र कजिनीको भूमिकामा देखिएका छन् ।
दृश्यमा विपीन बाहिर टेबुलमा बसेर आकाशतिर हेरिरहेका छन् । त्यतिकैमा भित्रबाट केकी आइपुग्छिन् डर र असहजता महसुस गर्दै ‘के हेर्नु भएको ?’ भन्ने प्रश्न सोध्छिन्। सुन्दा प्रश्न साधारण जस्तो लाग्छ। तर त्यसले उनीभित्रको नयाँ सम्बन्धमा आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने संकोच लुकेको देखिन्छ।
नयाँ वैवाहिक सम्बन्धमा उनी अझै पूर्ण रूपमा स्वतन्त्र महसुस गर्न सकेकी छैनन् र हरेक कुरामा अनुमति खोज्ने बानी उनको पुरानो संस्कारबाट आएको देखिन्छ। जब उनी जुन हेरिरहेका विपीनलाई ‘म पनि जुन हेरौं ?’ भन्दै सोध्छिन्। अनुमति मागिरहनुले उनको चरित्रको संवेदनशीलता झल्काएको छ। यसले उनको संस्कार पनि झल्काएको छ। साथै सिनेमाको कथा निकै वर्ष पुरानो रहेको पनि संकेत गर्छ।
‘जुन हेर्न पनि सोध्न पर्छ र ?’ विपीनको प्रतिप्रश्नले उनीहरुको सम्बन्धको भावनात्मक पक्षलाई उजागर गरेको छ। सम्बन्धमा नियन्त्रण होइन स्वतन्त्रता हुनुपर्छ भन्ने भाव विपीनको संवादमा देखिन्छ। उनी स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा उभिएका छन् ।
यता, केकी भने माइतीघरमा हुँदा आमाले बालाई नसोधी केही काम नगर्ने गरेको भन्दै जवाफ फर्काउँछिन् । उनी सम्बन्धम खुल्न चाहन्छिन् तर अझै पूर्ण रूपमा आत्मविश्वासी हुन सकेकी छैन। यसले सिनेमाकी पात्र कजिनी कस्तो संस्कारबाट आएकी हुन् भन्ने स्पष्ट पारेको छ।
यसका साथै सिनेमाले त्यतिबेला महिलाले हरेक कामका लागि पतिको अनुमति माग्नुपर्ने, उनीहरूको अनुमतिबिना केही नमिल्ने अवस्थाको सूक्ष्म चित्रण गर्नुका साथै पुरातनवादी परम्परालाई छोएको छ। त्यतिबेला आमाहरूले आफ्नो निर्णयको प्रयोग गर्न पाएका थिएनन् भन्ने कुरालाई उजागर गर्ने प्रयास गरेको छ।
यसबाट सम्बन्धमा अनुमति होइन स्वतन्त्रता हुनुपर्छ, पति पत्नी बराबरी हुन भन्ने सन्देश पनि दिएको छ, जुन कुरा विपीनले भन्छन्, ‘यहाँ त तिमीले कसैलाई पनि सोध्नु पर्दैन। तिमीलाई जे मन लाग्छ त्यही गर्दा हुन्छ। यो पनि तिम्रो घर हो नि।’ यो वाक्य केवल संवाद मात्र होइन, सम्बन्धलाई नै परिभाषित गरिदिएको छ।
माथिको संवादमा आएजस्तै सिनेमाले ग्रामीण परिवेश, मानवीय सम्बन्ध र परम्परागत सोच र विषयहरूलाई समेटेको निर्देशक रिजालले बताए। उनका अनुसार सिनेमाले नेपालीहरूको वैवाहिक सम्बन्धभित्र देखिने डरसँगै संस्कार, प्रेम र विश्वासको गहिरो मनोवैज्ञानिक पक्षलाई प्रस्तुत गरेको छ।
जसले साधारण जीवनभित्र लुकेको गहिरो भावनात्मक पक्षलाई पर्दामा उतार्ने प्रयास गरिएको छ। सिनेमाले परम्परागत सोच र आधुनिक सम्बन्धबीचको अन्तरलाई पनि देखाउने निर्देशक रिजालको भनाइ छ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमामा विपीन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याल लगायतको अभिनय गरेका छन्।
रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा प्रदीप भारद्धाजको लेखेका हुन् । चिन्तन राजभण्डारीले छायांकन गरेको सिनेमा आगामी जेठ ८ गते देशभर प्रदर्शन हुनेछ।
सिनेमामा कालीप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, र सुजिल कर्माचार्यको पार्श्व संगीत, नृत्य निर्देशक कविराज गहतरज, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक बिपिन मल्ल रहेका छन् ।
असिम काफ्ले कार्यकारी निर्माता रहेको सिनेमाका निर्मातामा नेहान रिजाल र विकाश राज जोशी छन्। सिनेमा श्रीराम बालाजी फिल्मस्ले नेपालभर वितरण गर्नेछ ।


प्रतिक्रिया