द सिनेमा टाइम्स, काठमाडौं । गायक प्रकाश सपुत नेपाली दर्शक तथा स्रोतामाझ परिचित नाम हो । उनी गायनमा जस्तै अभिनयमा पनि अब्बल छन् । अभिनय क्षमता दर्शकमाझ पोख्नका लागि उनी आतुर थिए तर सोचेझैँ क्यारेक्टर नहुँदा निराश बनेका प्रकाशले प्रदर्शनको संघारमा रहेको सिनेमा ‘परालको आगो’को एक पात्र चामेको भुमिका सशक्त निवार्ह गरेका छन् । उनी आफै पनि यो सिनेमाबाट आशावादी रहेको बताउँछन् ।
गत हप्ता सिनेमाको ट्रेलरमा प्रकाश सपुतको अभिनय क्षमता निकै बलियो देखिन्छ । अरु भन्दा फरक कथामा अभिनय गरेका उनले कहिले श्रीमतीलाई माया गर्ने तर श्रीमती माइतजाँदा भैसीमाथी पोखिएको रिसको कुरा सुनाए । त्यो आफुले नगरेको र रिस पोख्न नजान्दा सहकर्मी तथा अभिनेत्री सुहाना थापाले सिकाएको बताए ।
‘मैले भैसी कुट्नुपर्ने सिन थियो, तर मैले कुट्न सकिरहेको थिइनँ,’ उनले सिनेमाको सुटिङ गर्दाको क्षण सम्झँदै भने, ‘सिनमा पनि आओस् र भैसीलाई पनि केहि नहोस् भनेर कसरी काम गर्न सकिन्छ भन्ने कुरामा अलिक छटपटी भएको थियो । त्यो कुरा सुहानाले सिकाउनु भयो ।’ अर्काको कृतिमाथी अभिनय गर्नु चानचुने कुरा होइन । तर उनको त्यो शाहस भने मान्नैपर्छ ।
उनी भन्छन्, ‘परालको आगो’ भन्ने बितिक्कै श्रीमान श्रीमतीको झगडाकै कुरा आउँछ ।’ यो शुक्रबार अर्थात बैशाख ११ गतेबाट रिलिज हुन लागेको सिनेमामा प्रकाशसहित सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन् ।
सुशील पोखरेलको लगानी रहेको सिनेमाको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन् । सिनेमामा मिलन श्रेष्ठको सम्पादन, कनाल कँवरको रंग संयोजन समिर मिया र सत्यम रानाको भिएफएक्स, शाहिल खानको टिजर तथा ट्रेलर सम्पादन, किरण तुलाधरको पार्श्व संगीत, शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतको संगीत छ ।
हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्मित गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित सिनेमालाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको सिनेमालाई आरआर फिल्मसले वितरण गर्नेछ ।


प्रतिक्रिया