केकी र सुलक्षणको ‘स्टेशन’को शुभमुहूर्त,

केकी र सुलक्षणको ‘स्टेशन’को शुभमुहूर्त,

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री केकी अधिकारीले निर्माण गर्न लागेको सिनेमा ‘स्टेशन’को शुभमुहूर्त गरिएको छ । सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा मुहूर्त गर्दै सिनेमाको औपचारिक रुपमा निर्माण प्रक्रिया सुरु गरियो । मुहूर्तमा केकी र निर्देशक सुरक्षण भारतीले क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गरेका थिए ।

केकीले नयाँ वर्षको अवसर पारेर गत मंगलबार यो सिनेमाको निर्माण घोषणा गरेकी थिइन् । घोषणासँगै सार्वजनिक गरिएको ‘थिम पोस्टर’ले दर्शकमा सिनेमाको विषयवस्तुप्रति कौतुहलता जगाएको छ । कलर टोनमार्फत ‘बोक्सीको घर’को छनक दिन खोजिएको पोस्टरले क्राइम-थ्रिलर जनरामा सिनेमा बन्न लागेको संकेत गर्छ ।

केकी अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने सिनेमामा निर्देशक भारती स्वयंको लेखन रहेको छ । केकी र भारतीले यसअघि ब्लकबस्टर सिनेमा ‘बोक्सीको घर’मा सहकार्य गरेका थिए । उनीहरुले यो सिनेमाका लागि दोस्रो पटक सहकार्य गरेका हुन् ।

यो सिनेमाको निर्मातामा बद्री अधिकारी रहेका छन् । डेढ दशकअघि ‘इन्द्रावती’, ‘लडाइँ’, चक्रव्यूह’, ‘आवाज’, ‘ज्यान हाजिर छ’ लगायतका सिनेमाको निर्देशन समेत गरेका उनी केकीका बुबा हुन् । कुनै समय उनले निर्देशन गरेको ‘अविरल बग्दछ इन्द्रावती’ नामक टेलिशृंखला निकै चर्चित थियो । सुलक्षण भारतीको निर्देशनमा निर्माण हुने सिनेमाको छायांकन वैशाख तेस्रो साताबाट सुरु हुनेछ ।

यो सिनेमा आगामी भदौ १९ गते देशभरका सिनेमाघरमा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ ।