द सिनेमा टाइम्स, काठमाडौं । गायक रामकृष्ण ढकालले निर्माण गरेको सिनेमा ‘मालती मंगले’को तेस्रो गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ । यो सिनेमाका अघिल्ला दुई गीतहरू ‘सुनैको सपनी’ र ‘ढुंगा माथि लेऊ’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको अवस्थामा निर्माण पक्षले सोमबार लोकलयमा आधारित यो गीत सार्वजनिक गरेको हो ।
युवा युवतीबीचको प्रेम र आकर्षणलाई समेटिएको गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ । उनीहरूले यसअघि सिनेमा ‘हिजो आजका कुरा’मा समावेश चर्चित गीत ‘माया जदौ’मा सहकार्य गरेका थिए । गीतमा राजेन्द्र थापाको शब्द रचना छ भने राजनराज सिवाकोटीको संगीत तथा श्यामश्वेत रसाइलीको एरेन्ज रहेको छ ।
गीतको भिडियोलाई सिनेमाका मुख्य जोडी विजय बराल र वर्षा राउतको विवाहको माहोलमा तयार पारिएको छ । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोमा मेक्सम गौडेल, डान्सर सविन कार्की (बीस्ट), एलिसा शर्मा र रोशित कर्माचार्यले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । सविन, एलिसा र रोशित सिनेमाको यस गीतमा मात्र देखिनेछन् ।
प्रकु पाण्डेयको कथा तथा निर्देशनमा निर्माण भएको सिनेमामा विजय, वर्षा र मेक्समसहित नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, राज पंगेनी लगायतका कलाकारको अभिनय छ । यो सिनेमाको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् ।
आगामी वैशाख २५ गतेबाट प्रदर्शन आउने सिनेमाका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह-निर्माताहरूमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन् । सिनेमामा महेश पौडेलको छायांकन तथा रोमी मोजेजको सम्पादन रहेको छ । रंग संयोजन कृष्ण भण्डारी र ध्वनि मिश्रण डिकेश खड्गीले गरेका हुन् ।


प्रतिक्रिया