विजय र सनिशा अभिनित ‘जिरो डिग्री’को छायांकन ३७ दिनमा सकियो

विजय र सनिशा अभिनित ‘जिरो डिग्री’को छायांकन ३७ दिनमा सकियो

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विजय बरालको मुख्य भूमिका रहेको सिनेमा ‘जिरो डिग्री’को छायांकन सकिएको छ । गत चैत १ गते कास्की जिल्लाको अर्मलाकोटबाट सुरु गरिएको सिनेमाको छायांकन सोमबार ३७ दिनमा पूरा भएको हो । यस अवधिमा सिनेमालाई अर्मलाकोटसहित धिताल, घार्मी र बगर गाउँमा खिचिएको निर्देशक आकाश बरालले जानकारी दिए ।

छायांकनका क्रममा निर्माण टोलीले मौसमको ठूलो चुनौती सामना गर्नुपरेको थियो । हरेक दिनजसो पानी पर्दा पनि सुटिङलाई निरन्तरता दिइएको थियो भने अन्तिम–अन्तिम समयमा लगातार ३० घण्टासम्म पनि छायांकन गरिएको थियो । यस्तो कठिन परिस्थितिमा पनि सेटको माहोल भने निकै रमाइलो र ऊर्जावान रहेको निर्देशक बरालले बताए ।

आकाश र सजन काफ्लेले संयुक्त रुपमा निर्देशन गरेको सिनेमामा विजयसहित प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, संजोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सविना थापा क्षेत्री, राम बाबु रेग्मी, सुवास गजुरेल लगायतको अभिनय रहेको छ । सिनेमालाई निशाल पौडेलले छायांकन गरेका हुन् ।

सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान गाउँ नफर्किन्जेल शवलाई सुरक्षित राख्न सहरबाट ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूमा सिनेमाको कथा घुमेको छ । सिनेमालाई दशैंभन्दा अघि प्रदर्शन गर्ने योजनामा निर्माण पक्ष रहेको छ ।