‘चिरञ्जीवी भवः’मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित

‘चिरञ्जीवी भवः’मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘चिरञ्जीवी भवः’मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन् । गत बुधबार निर्माण टिमले उनलाई सिनेमाको मुख्य भूमिकामा अनुबन्धित गरेका हुन् । सिनेमामा उनको जोडी मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझीसँग बाँधिनेछ ।

आशीर्वादले सिनेमा ‘नाइँ नभन्नू ल ६’बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । दुई दर्जनभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेका उनको डेव्यु सिनेमा व्यावसायिक रुपमा सफल नभए पनि एक्सन र नृत्यको प्रशंसा भएको थियो । उनको पछिल्लो रिलिज सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’ गतवर्षको फागुन १ गते प्रदर्शनमा आएको थियो । उनले ‘टासिदेलेक’ नामक सिनेमामा पनि अनुबन्धित भएका थिए ।

‘चिरञ्जीवी भवः’को औपचारिक निर्माण घोषणा नयाँ वर्ष २०८३ को अवसर पारेर वैशाख १ गते गरिएको थियो । यो सिनेमाको कथा कलाकार कुमार कट्टेल ‘जिग्री ब्रो’ले लेखेका हुन् भने पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका छन् । हाल स्क्रिप्टको अन्तिम ड्राफ्टमा काम भइरहेको जनाइएको छ ।

एक परिवारको दुई पुस्ता हजुरबुबा र नातीबीचको वैचारिक मतभिन्नता र भावनात्मक सम्बन्धको कथामा निर्माण हुन लागेको सिनेमाका निर्माता उमेश कुमार बराल हुन् । कार्यकारी निर्माताहरूमा कुमार कट्टेल र शैलेश खत्री रहेका छन् । निर्माण पक्षका अनुसार प्रि–प्रोडक्सनको काम सकाएर अबको दुई महिनाभित्र सिनेमाको छायांकन सुरु गरिनेछ ।