साउन २२ गते नीर शाहको ‘कमला मिस’ रिलिज घोषणा

साउन २२ गते नीर शाहको ‘कमला मिस’ रिलिज घोषणा

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन २२ गतेबाट सिनेमा ‘कमला मिस’ प्रदर्शनमा आउने भएको छ । बरिष्ठ अभिनेता नीर शाहको एक दशकपछिको निर्देशकीय कमब्याक सिनेमाको बिहीबार निर्माता टिमले एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीसँग वितरणसम्बन्धी सम्झौता गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

यो सिनेमाको अहिले सम्पादनको काम भइरहेको छ । मनोवैज्ञानिक कथावस्तुमा आधारित सिनेमामा निर्देशक शाहसहित रमेश बुढाथोकी, सुशान्त कुमार श्रेष्ठ, बासना तिमल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, सञ्जय खतिवडा, भोला सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको सिनेमामा उमेश मल्ल र चैतन्य प्रधान कार्यकारी निर्मातामा छन् । लाइन प्रोड्युसरका रूपमा पुष्कर लामा रहेका छन् । सिनेमाको कथा स्वर्गीय साहित्यकार विजय मल्लको हो । पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।

यो सिनेमा विजय मल्लको चर्चित नाट्यकृति ‘कोही किन बर्बाद होस्‌’को कथाबाट प्रेरित छ । प्रेम र मातृत्वले बालबालिकामा पार्ने प्रभाव र अभिभावकको दायित्वको कथालाई मुख्य विषयवस्तु बनाइएको सिनेमामा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापक भोला सुवेदी हुन् ।