प्रदर्शनमा आयो सौगात, सुहाना र प्रकाशको ‘परालको आगो’

प्रदर्शनमा आयो सौगात, सुहाना र प्रकाशको ‘परालको आगो’

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा संग्रहित ‘परालको आगो’ कथाबाट प्रेरित भएर निर्माण भएको सिनेमा ‘परालको आगो’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । एकल रिलिजको अवसर पाएको सिनेमाले देशभर एक सयभन्दा बढी शो पाएको हो ।

काठमाडौंसहित केही शहरका हलमा टिकट बुकिङ सुखद देखिएकाले सिनेमाको ओपनिङ राम्रो हुने देखिन्छ । यो सिनेममालाई बक्सअफिसमा लामो टिक्नको लागि दर्शकबाट सकारात्मक प्रतिक्रिया मिल्न आवश्यक छ । पहिलो शोमा सिनेमा हेरेका दर्शकले कस्तो प्रचार गर्छन् । त्यसले नै सिनेमाको बक्सअफिस भविष्य निर्धारण गर्नेछ ।

सोलो रिलिज र शनिबार-आइतबारको सार्वजनिक विदाका कारण सिनेमालाई व्यापारिक रूपमा भने अनुकूल अवस्था देखिएको छ । सिनेमा रिलिज भएसँगै निर्देशकदेखि कलाकारसम्म दर्शकीय प्रतिक्रिया बुझ्न हल भ्रमणमा निस्किएका छन् । शुक्रबार बिहान साढे १० बजे प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारीलगायतका कलाकारले भक्तपुरस्थित क्यूएफएक्स हलमा पुगेर दर्शकसँग भेट गरेका थिए ।

पहिलो शोमा सिनेमाले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको निर्माता सुशील पोखरेलले बताए । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको सिनेमामा सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, ज्याक श्रेष्ठ, किशोर भण्डारी, सरिता भण्डारी, मन्जिला बानियाँलगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्मित सुशील देवकोटाको पटकथा तथा संवाद लेखन रहेको सिनेमामा श्रीमान्‌-श्रीमतीको झगडालाई मुख्य विषयवस्तु बनाइएको छ । सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको सिनेमालाई आरआर फिल्मसले वितरण गर्नेछ ।

सिनेमामा मिलन श्रेष्ठको सम्पादन, कनाल कँवरको रंग संयोजन समिर मिया र सत्यम रानाको भिएफएक्स, शाहिल खानको टिजर तथा ट्रेलर सम्पादन, किरण तुलाधरको पार्श्व संगीत, शान्ति ठटाल, सत्य-स्वरुप आचार्य र प्रकाश सपुतको संगीत छ ।