द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको सिनेमा ‘माया भनेकै यस्तो होला’ हरितालिका तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । गत शुक्रबार निर्माताले एफडी कम्पनी, एप्पल इन्टरटेन्मेन्ट र रिच इन्टरटेन्मेन्टसँग वितरणसम्बन्धी सम्झौता गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् ।
अभिनेत्री थापाको ८ वर्षपछिको निर्देशकिय कमब्याक सिनेमामा नयाँ र पुराना पुस्ताका स्थापित कलाकारहरूको संयोजन रहेको छ । सिनेमामा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ, विनोद पौडेल लगायतको अभिनय छ ।
अभिनेता तथा निर्माता दिलले यो सिनेमाबाट करिब ६ वर्षपछि अभिनयमा कमब्याक गरेका हुन् । पारिवारिक र त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमाका निर्माता हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ हुन् ।
यसमा पत्रकार ध्रुव लम्सालको लेखन रहेको छ । उनी यही सिनेमामार्फत १० वर्षपछि लेखनमा फर्किएका हुन् । यसअघि उनले ‘कन्यादान’, ‘को कस्को’, ‘चिनो’, ‘मन परेपछि’, ‘वरदान’, ‘नतिजा’, ‘जाऊँ हिँड पोखरा’ लगायतका सिनेमा लेखेका थिए ।
दीया एण्ड अमु फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सुदीप बरालको छायांकन तथा प्रशान्त सिवाकोटीको संगीत रहेको छ । पत्रकार राजन घिमिरे को-अर्डिनेटरको रूपमा रहेको सिनेमाका प्रमुख सहायक निर्देशक अनिरुद्ध आत्रेय हुन् । यो सिनेमाले प्रेमकथाको माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गरेको बताइएको छ ।


प्रतिक्रिया