द सिनेमा टाइम्स, काठमाडौं । यम थापाको निर्देशनमा निर्माण भएको सिनेमा ‘लालीबजार’मा गायक प्रकाश सपूतको गीत समावेश गरिएको छ । प्रकाशको शब्द तथा संगीत रहेको ‘मै राम्री छु त नि’ बोलको गीतको डेढ मिनेट लामो अंश शुक्रबार निर्माता कम्पनी षट्कोण आर्ट्सले युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
वैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको सार्वजनिक गीतको पूरा अंश हलमा हेर्न पाइने निर्देशक थापाले बताए । लोकलयमा आधारित गीतमा ‘मायालाई के दिऊँ म बैना’की गायिका दीपिका बयम्बू मगरको स्वर रहेको छ भने कोरस भोकल विन्दू बिसी, रन्जिता विश्वकर्मा, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकले दिएका छन् ।
सार्वजनिक गीतको भिडियोमा सिनेमाकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कासहितका कलाकारले आकर्षक नृत्य गरेका छन् । नथिया प्रथालाई केन्द्रमा राखेर आमा-छोरीको भावनात्मक सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाइएको सिनेमामा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, रमेश बादी, तारा शर्मा लगायतको अभिनय छ । यो सिनेमामार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यू गरेका हुन् ।
सिनेमाको कथा निर्देशक थापा स्वयंको हो भने पटकथा तथा संवाद लेखनमा उनलाई प्रदीप भट्टराईले सघाएका छन् । सिनेमामा सुशन प्रजापतिको छायांकन, मित्र डी गुरुङको सम्पादन तथा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको संगीत छ ।
सिनेमाका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्मातामा छन् । जेवी रुवाली क्रियटिभ निर्देशक रहेको सिनेमाका प्रोडक्सन हेड रुपक प्रताप अधिकारी हुन् ।


प्रतिक्रिया