द सिनेमा टाइम्स, काठमाडौं । जोन योञ्जनको निर्देशनमा निर्माण भएको सिनेमा ‘रोल नं १’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शिक्षा प्रणाली र सामाजिक सोचलाई व्यंग्य गरिएको गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ । प्रशान्त तिनै सर्जक हुन्, जसले तयार पारेका ‘न्याउली वनैमा’, ‘काँधेकुरी’ जस्ता गीत चर्चित छन् ।
सार्वजनिक गीतले सामाजिक प्रतिष्ठाका लागि परिवारले सन्तानलाई दिने पढाइको दबाब, ‘र्याङ्किङ’ (श्रेणी)को दौड, किताब घोक्ने मात्र शिक्षा, कक्षामा प्रथम हुनेले मात्र इज्जत, माया र सम्मान पाउँछ भन्ने सामाजिक सोचजस्ता विषयलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरेको छ । किताबी किरो भएर मात्र काम छैन भन्ने सन्देश पनि गीतले दिन्छ ।
कीर्तिमानी सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको सिनेमाको सार्वजनिक गीतको भिडियोमा एक बालकलाई केन्द्रमा राखिएको छ । जसलाई बुबाले पढाइको दबाब दिँदै भनेका छन्, ‘सारा गाउँलेलाई देखाइदे । तैँले अरु केही गर्नु पर्दैन, थपक्क बस्ने, खुरुखुरु पढ्ने ।’ यसपछि ती बालक आफ्ना सबै रहर र इच्छा त्यागेर पढाइमा मात्र ध्यान दिइरहेका देखिन्छन् ।
सार्वजनिक गीतको भिडियो हेर्दा आर्थिक रुपमा कमजोर एक परिवारको कथा सिनेमाले पेस गरेको बुझ्न सकिन्छ । सिनेमामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको सिनेमाको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । सिनेमामा महेश दवाडीको लेखन रहेको छ । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको सिनेमाको छायांकन शिव राम श्रेष्ठले गरेका हुन् ।
प्रशान्त शिवाकोटीको संगीत, फिरोड खड्काको मुख्य सहायक निर्देशन, मनोज जोशी प्रोडक्सन हेड रहेको सिनेमाका सम्पादकमा मदन घिमिरे छन् ।


प्रतिक्रिया