द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको सिनेमा ‘मास्टर्नी’ भदौ १२ गतेबाट प्रदर्शन आउने तयारीमा छ । उनी स्वयंको मुख्य भूमिका रहेको यो सिनेमाको यतिबेला भारतको प्रतिष्ठित ‘यशराज स्टुडियोज्’मा पोस्ट प्रोडक्सनको काम भइरहेको छ । यसका लागि प्रियंका र उनका श्रीमान् आयुष्मान देशराज जोशी अहिले भारतमा छन् ।
प्रियंकाले शनिबार सामाजिक सञ्जालमा सिनेमाको डबिङ गरिरहेको तस्वीर सेयर गर्दै ‘यशराज स्टुडियोज्’मा पोस्ट-प्रोडक्सनको काम गर्नु एउटा सपना साकार भएजस्तै भएको बताएकी छिन् । डबिङको क्रममा उनको बलिउडका चर्चित अभिनेता अनिल कपूरसँग पनि भेट भएको छ । अनिलसँगको दुईवटा तस्वीर सेअर गर्दै उनले आफूलाई ‘फ्यान गर्ल’ भनेकी छन् ।
यो सिनेमाका निर्देशक सुभेन्दू घोष भारतीय भएकाले उनकै सक्रियता र उपस्थितिमा सिनेमाको पोस्ट प्रोडक्सनको काम ‘यशराज स्टुडियोज्’मा भइरहेको हो । यो सिनेमालाई नेपालीसहित ८ वटा भाषामा तयार गरिँदैछ । हिन्दी, बंगाली, पञ्जाबी, तमिल, तेलुगु, मलायलम र भोजपुरी भाषामा सिनेमालाई डब गरेर नेपाल र भारतमा रिलिज गरिने जनाइएको छ ।
एक शिक्षिकाको कथामा निर्माण भएको सिनेमामा प्रियंकासहित सरोज खनाल, ऋचा शर्मा, आर्यन सिग्देल, प्रमोद अग्रहरी, अनुप विक्रम शाही लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माता रहेको सिनेमामा प्रियंका स्वयंको कथा छ । यसमा शान बस्न्यातको पटकथा तथा प्रियंका र शानको संवाद लेखन छ ।


प्रतिक्रिया