दशैंमा रिलिज हुने ‘छ माया छपक्कै २’को शुभमुहूर्त, दीपक र केकीसँगै सनिशाको प्रवेश

दशैंमा रिलिज हुने ‘छ माया छपक्कै २’को शुभमुहूर्त, दीपक र केकीसँगै सनिशाको प्रवेश

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दीपक-दीपा समूहले नयाँ सिनेमा ‘छ माया छपक्कै २’को शुभमुहूर्त गर्दै औपचारिक रूपमा निर्माण कार्यको सुरुवात गरिएको छ । सोमबार बिहान भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा सिनेमाको शुभमुहूर्त गरिएको हो ।

यो सिनेमाको छायांकन केही दिनपछि नुवाकोटबाट सुरु हुनेछ । दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने सिनेमामा अघिल्लो भागका मुख्य जोडी दीपकराज गिरी र केकी अधिकारी नै मुख्य भूमिकामा देखिने भएका छन् । साथमा मोडल तथा अभिनेत्री सनिशा भट्टराईको पनि अभिनय रहनेछ । ‘छ माया छपक्कै’का अन्य कलाकारहरू केदार घिमिरे र जितु नेपालको अभिनय रहने वा नरहनेबारे भने निर्माण पक्षले जानकारी दिएको छैन् ।

नेपालको सिनेमा निर्माणमा सबैभन्दा सफल मानिएको दीपक-दीपा समूहको कम्पनी आमा सरस्वती मूभिजसँगको सहकार्यमा ‘फर्की फर्की’का निर्माता रोहित अधिकारीले सिनेमाको निर्माण गर्नेछन् । निकट स्रोतका अनुसार मुनाफाको हिस्सेदारीमा रहने गरी दीपक-दीपा समूह यो सिनेमामा जोडिएको हो । सन् २०१९ मा प्रदर्शन भएको ‘छ माया छपक्कै’मा पनि उनीहरूले यही सहमतिअनुसार काम गरेका थिए ।

नुवाकोटसहित पोखरा र काठमाडौंमा छायांकन गरिने सिनेमा ‘छ माया छपक्कै’को सिक्वेलका रूपमा निर्माण हुन लागेको हो । यसबारे दीपाश्री निरौलाले भनेकी छन्, ‘यो सिक्वेल सिनेमा हो । अघिल्लो भागको कथा जहाँ सकिएको थियो, त्यहीँबाट सिनेमा सुरु हुनेछ ।’ उनका अनुसार यस वर्षको दशैंमा सिनेमा प्रदर्शनमा आउनेछ ।