द सिनेमा टाइम्स, काठमाडौं । गायक रामकृष्ण ढकालले निर्माण गरेको सिनेमा ‘मालती मंगले’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार निर्माण पक्षले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै तीन मिनेटभन्दा लामो ट्रेलर सार्वजनिक गरेको हो । हाँसो र रोदन मिश्रित ट्रेलरमा सिनेमाका मुख्य पात्र विजय बराल र वर्षा राउतको प्रेम सम्बन्धदेखि विवाहसम्मको यात्रा देखाइएको छ ।
मालती र मंगले पात्रमा केन्द्रित ट्रेलरमा छोरी भएकै कारण समाजले गर्ने हेयको व्यवहार र दाम्पत्य जीवनमा अविश्वासका कारण उत्पन्न हुने पारिवारिक कलहलाई प्रस्तुत गरिएको छ । एक दृश्यमा वर्षाको एउटा संवाद छ, ‘मैले तिमीबाहेक कसैसँग सिरानी साटेको छैन मंगले ।’ यो संवादले पितृसत्तात्मक समाजमा सुनेकै भरमा महिलामाथि गरिने शंकालाई उजागर गरेको छ ।
ट्रेलर हेर्दा सिनेमाले अन्तरजातीय विवाहलाई पनि मूल कथामा समेटेको देखिन्छ । किनकि, एक दृश्यमा मालती पात्रले भागी विवाह गरेपछि परिवारले उनको कपडा जलाएको देख्न सकिन्छ । अर्को दृश्यमा एक पात्रले मंगलेलाई ‘गतिलो खानदान नभएको’ भन्दै अपमान गरेका छन् । दाजुभाइबीचको अविश्वासलाई पनि सिनेमाले प्रस्तुत गरेको ट्रेलरमा देख्न सकिन्छ ।
प्रकु पाण्डेयको कथा तथा निर्देशनमा निर्माण भएको सिनेमामा विजय र वर्षासहित मेक्सम गौडेल, नरिन थापा, प्रकाश घिमिरे, मान्सु सापकोटा, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, राज पङ्गेनी लगायतका कलाकारको अभिनय छ । सिनेमाको पटकथा तथा संवाद संयोग गुरागाईँले लेखेका हुन् ।
वैशाख २५ गतेबाट प्रदर्शन हुन लागेको सिनेमाका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह–निर्माताहरूमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन् । सिनेमामा महेश पौडेलको छायांकन तथा रोमी मोजेजको सम्पादन रहेको छ । रंग संयोजन कृष्ण भण्डारी र ध्वनि मिश्रण डिकेश खड्गीले गरेका हुन् ।


प्रतिक्रिया