भदौ १९ गते कृष्ण जन्माष्टमीको अवसरमा ‘बाः एक योद्धा’ रिलिज घोषणा

भदौ १९ गते कृष्ण जन्माष्टमीको अवसरमा ‘बाः एक योद्धा’ रिलिज घोषणा

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्रीद्धय झरना थापा र सुहाना थापाको मुख्य भूमिका रहेको सिनेमा ‘बाः एक योद्धा’ कृष्ण जन्माष्टमीको अवसर पारेर भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार निर्माता कम्पनी आर्टिस्टिक इन्टरटेनमेन्टले थिम पोस्टरमार्फत प्रदर्शन मिति घोषणा गरेको हो । यो मितिमा अरु दुई सिनेमा ‘ककाकिकी’ र ‘स्टेशन’ पनि प्रदर्शन हुँदैछन् ।

संगीतकार हरि लम्सालको डेब्यू निर्देशकीय सिनेमामा अभिनेत्रीद्वय झरना र सुहाना पहिलो पटक एकसाथ देखिन लागेका हुन् । निर्देशक लम्सालका अनुसार रियल आमाछोरीलाई सिनेमामा आमाछोरीकै भूमिकामा प्रस्तुत गरिएको छ । अभिनेता दिव्यदेव पन्तको पनि सिनेमामा मुख्य भूमिका रहेको छ ।

निर्देशक लम्साल स्वयंको कथा तथा पटकथा रहेको सिनेमालाई वसन्त लम्सालले निर्माण गरेका हुन् । उनले यसअघि विपिन कार्की र उपासना सिंह ठकुरीलाई लिएर सिनेमा ‘कर्मा’ निर्माण गरेका थिए । ‘बाः एक योद्धा’ उनको दोस्रो निर्माण हो । यसमा शिवराम श्रेष्ठको छायांकन रहेको छ भने मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन् ।

यो सिनेमाले बाबुको महत्त्व र योगदानलाई केन्द्रमा राखेको निर्देशक लम्सालले जानकारी दिए । उनका अनुसार सिनेमामा एक बाबुले सन्तानका लागि गर्ने त्याग, जीवनभर भोग्ने चुनौती र संघर्षलाई मुख्य कथावस्तुका रूपमा प्रस्तुत गरिएको छ । ग्रामीण र शहरी दुवै परिवेशमा बाबुले बोक्ने जिम्मेवारीलाई सिनेमामार्फत उजागर गरिएको उनको भनाई छ ।