द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा जगतमा ‘गौथली’ एउटा स्थापित र भावनात्मक नाम हो । नेपालका प्रतिष्ठित चिकित्सक डाक्टर भोला रिजालको कथामा झण्डै दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औं दिन मनाउन सफल भएको थियो । अहिले सोही विरासतलाई नयाँ स्वरूपमा प्रस्तुत गर्दै नयाँ सिनेमा ‘गौथली’ आउँदैछ ।
यो सिनेमालाई डाक्टर कपिल रिजालले निर्देशन गरेका हुन् । यसअघि उनले अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर सिनेमा ‘ह्यारीकी प्यारी’ बनाएका थिए । निर्माण पक्षले वितरक फाइनल गरेसँगै सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी साउन १ गते अर्थात् जुलाई १७ लाई घोष्णा गरेको हो ।
यो सिनेमामा अरुण क्षेत्री र सिम्रन खड्काको जोडीलाई पर्दामा देख्न पाइनेछ । उनीहरुका साथमा सिनेमामा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
वरिष्ठ चिकित्सक डाक्टर भोला रिजालको कथा रहेको सिनेमाको पटकथा तथा संवाद लेखनमा निर्देशक डाक्टर कपिल रिजालसहित निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । सिनेमाको ‘गौथली’को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यतासँग जोडिएको निर्माण पक्षले जनाएको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको सिनेमाको कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माताको रूपमा सुमन गिरी र डाक्टर कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताको रूपमा रहेका छन् ।
वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको सिनेमामा पार्श्व संगीत एलिस कार्कीको छ । सिनेमालाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको सिनेमामा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ । यो सिनेमालाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् । डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ ।


प्रतिक्रिया